
काठमाडौँ । कम्बोडियामा अनलाइन ठगीलगायत गैरकानुनी काममा लगाइएका र बिनाभिसा बसिरहेका २० नेपालीलाई उद्धार गरी स्वेदश फर्काइएको छ ।
थाइल्यान्डस्थित नेपाली दूतावासको पहल र कम्बोडिया सरकारको सहयोगमा उद्धार गरी उनीहरूलाई आज स्वदेश फर्काइएको हो । विभिन्न व्यक्तिको प्रलोभनमा परी कम्बोडिया पुगेका र त्यहाँ अवैधरूपमा सञ्चालन गरिएका ‘अनलाइन स्क्यामिङ’ केन्द्र र क्यासिनोहरूमा अनलाइन ठगीमा परेका उनीहरूलाई अन्य गैरकानुनी काममा समेत लगाइएको थियो । स्क्यामिङ केन्द्रहरूमा काम लगाइएकाको राहदानी कम्पनीले जफत गर्ने गरेको वा स्क्यामिङ केन्द्रबाट ट्रान्सफर हुँदा राहदानी हराएको भनी धेरैको गुनासो आएको पनि दूतावासले जनाएको छ ।
त्यस्तो अवस्थामा नेपाल फर्किनलाई नेपाली दूतावास बैंककले उद्धार गर्न बिनाशुल्क एकतर्फी यात्रा अनुमतिपत्र जारी गरिदिने गरेको छ । कम्बोडियाको पर्यटनसम्बन्धी तथ्यांकअनुसार पछिल्लो समय सन् २०२१ मा १ सय १ नेपाली भ्रमण भिसामा कम्बोडिया गएकोमा सन् २०२२ मा एक हजार ९७७, २०२३ मा दुई हजार ९ सय ४०, २०२४ मा छ हजार ४ सय ४ तथा २०२५ मा नौ हजार ६७६ जना नेपाली कम्बोडिया गएको देखिन्छ ।
सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी कम्बोडिया, लाओस, म्यानमार, थाइल्याण्डलगायतका मुलुकमा भ्रमणको बहानामा वैदेशिक रोजगारीमा नआउन पनि राजदूतावासले सबैमा अनुरोध गरेको छ ।