समानुपातिकतर्फ निर्वाचित भएकाहरूलाई आयोगले दियो प्रमाणपत्र

चैत्र ५, २०८२ |कान्तिपुर टीभी संवाददाता
समानुपातिकतर्फ निर्वाचित भएकाहरूलाई आयोगले दियो प्रमाणपत्र

काठमाडौँ । निर्वाचन आयोगले समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य चुनिएकाहरूलाई प्रमाणपत्र प्रदान गरेको छ । आयोग परिसरमा आयोजित कार्यक्रममा आयोगले समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको हो ।

फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ १ सय १० जना निर्वाचित भएका छन् । आयोगले राजनीतिक दलहरूले प्राप्त गरेको मतका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीका ५७, नेपाली कांग्रेसका २०, नेकपा एमालेका १६, नेपाली कम्युनिस्ट पार्टीका ९ तथा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका ४–४ सांसदलाई प्रमाणपत्र दिएको हो । प्रत्यक्षतर्फ १ सय ६५ जना निर्वाचित भएका छन् । प्रत्यक्षतर्फ निर्वाचित भएकाहरूले यसअघि नै प्रमाणपत्र पाइसकेका छन्। निर्वाचित प्रतिनिधिसभा सदस्यहरूको सपथ भने चैत १२ गते गर्ने तयारी छ ।

निर्वाचन आयोगले आजै प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउने जनाएको छ । अपराह्न ४ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी प्रतिवेदन बुझाउने समय तय भएको आयोगले जनाएको छ । आयोगले राष्ट्रपति पौडेललाई प्रतिवेदन बुझाएपछि साँझ साढे ५ बजे पत्रकार सम्मेलन गरेर निर्वाचनसम्बन्धी सम्पूर्ण जानकारी दिने बताएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.