फागुनमै बाढी, फेमे खोला डाइभर्सन बगाँउदा यातायात अवरूद्व

फाल्गुन २९, २०८२ |लक्ष्मी गौतम
फागुनमै बाढी, फेमे खोला डाइभर्सन बगाँउदा यातायात अवरूद्व

पाँचथर । लामो समयपछि भएको वर्षासँगै आएको बाढीले पाँचथरको फेमे खोलाको डाइभर्सन बगाँउदा फिदिम फालौट सडक खण्डमा यातायात र ढुवानीका साधन आउजाउ बन्द भएको छ । 

बिहीबार साँझ पानी पर्नासाथ आएको बाढीले यहाँ डाइभर्सनका लागि राखिएका ह्युम पाइप बगाएको हो। ह्युमपाइप एकसय मिटर तलसम्म बगाएर लगेकाले सवारी र ढुवानीका साधन आउजाउ ठप्प भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । 

सदरमुकाम फिदिमदेखि, नांगीन, याङनाम, सिदिन र प्राङवुङ हुँदै भारतसँगको सिमावर्ती फालौट र चारराते क्षेत्रलाई जोड्ने यो सडक जिल्लाका महत्वपूर्ण मध्ये एक हो । फेमेखोलामा सवैभन्दा पहिले २०८१ असोज १२ गते आएको बाढीले पक्की पुल बगाइदिएको थियो । 

त्यसपछि यो खोलाको यातायात डाइभर्सनका भरमा छ । गत वर्ष पटक पटक डाइभर्सन बग्दा सवारी सडक अवरुद्व भएको थियो । यहाँ प्रदेश सरकारले निर्माण गरिरहेको बेलिब्रिजको काम पुरा भएको छैन ।

क्षतिग्रस्त डाइर्सन मर्मत गरेर सडक खुलाउन पुर्वाधार विकास कार्यालय पाँचथरले विहानैदेखि प्रयास गरिरहेको छ ।


Image

लक्ष्मी गौतम

गौतम कान्तिपुर टेलिभिजनका पाँचथरका संवाददाता हुन् ।