नयाँ वर्षको उपलक्ष्यमा मठमन्दिरमा दर्शनार्थीको घुइँचो

वैशाख १, २०८३ |कान्तिपुर टीभी संवाददाता
नयाँ वर्षको उपलक्ष्यमा मठमन्दिरमा दर्शनार्थीको घुइँचो

काठमाडौं । नयाँ वर्षको उपलक्ष्यमा सर्वसाधारणहरू बिहानैदेखि मठमन्दिर दर्शन गर्न पुगेका छन् । 

काठमाडौंसहित देशका विभिन्न मन्दिरमा दर्शनार्थीहरूको भीड लागेको छ । वर्षको पहिलो दिन काठमाडौंको पशुपतिनाथ, कोटेश्वर महादेव, मैतीदेवी, राम मन्दिर, सपनातीर्थलगायत स्थानमा धेरै भक्तजनहरू देखिन्छन् ।

यस्तै पाल्पाको भैरवनाथ मन्दिर, बागलुङको कालिका, दाङको अम्बिकेश्वरी मन्दिर, जनकपुरको जानकी मन्दिरलगायत अधिकांश मठमन्दिरमा पूजा आराधनाका लागि दर्शनार्थीहरू पुगेका छन् । नयाँ वर्षको दिन विभिन्न समुदाय तथा क्षेत्रविशेष चाड पर्ने भएकाले पनि यो दिनको धार्मिक तथा सांस्कृतिक महत्त्वसमेत रहने गरेको छ । 

मंगलबार सुदूरपश्चिममा बिसु पर्व मनाइँदै छ । वर्षभरि देशविदेशमा रहेका आफन्त एकदिन भए पनि घर फर्कनैपर्ने मान्यताका कारण यतिबेला सुदूरपश्चिमका गाउँबस्तीमा चहलपहल र उत्साह बढेको छ । यसैगरी नयाँ वर्षको अवसरमा भक्तपुर जिल्ला जात्रामय बनेको छ । मध्यपुर थिमिमा प्रसिद्ध बिस्का जात्राको रौनक छ । 

अन्य ठाउँमा पनि स्थानीय जात्रा चलिरहेको छ । बिस्काको पाँचौँ दिन अर्थात् नयाँ वर्षमा अघिल्लो दिन उभ्याइएको लिंगो ढालिने गरिन्छ । बिस्काको जात्रा हेर्नाले सुख, समृद्धि, सहकाल आउनुका साथै शत्रु नास हुन्छ भन्ने धार्मिक जनविश्वास छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.