
काठमाडौं । आइतबार राति अहमदाबादको नरेन्द्र मोदी स्टेडियमको क्यापासिटी क्राउड सामू भारतीय क्रिकेट टिमले इतिहास रच्यो ।
सूर्यकुमार यादवको कप्तानीमा भारतले टी-२० विश्वकप २०२६ को फाइनलमा न्युजिल्यान्डलाई ९६ रनले पराजित गर्दै लगातार दोस्रो पटक उपाधि जित्यो । २ सय ५५ रनको विशाल स्कोर खडा गर्दै भारतले फाइनल इतिहासकै सबैभन्दा ठूलो योगफल बनायो र तेस्रो पटक टी-२० विश्वकप जित्ने विश्वकै पहिलो टोलीका रूपमा नयाँ अध्याय लेख्यो ।
प्रतियोगिता सुरु हुनुअघि भारतका पूर्वकप्तान रोहित शर्माले भारतीय टिमले इतिहास दोहोर्याउने र इतिहासलाई पराजित पनि गर्ने अभिव्यक्ति आत्मविश्वासका साथ भनेका थिए । फाइनलको रात उनको अभिव्यक्ति भविष्यवाणी झैं सत्य सावित भयो । भारतले सन् २०२४ मा जितेको टी-२० विश्वकपको गौरवलाई सन् २०२६ मा पुनः दोहोर्यायो ।
यो जितले भारतलाई लगातार दुई पटक विश्वकपको उपाधि हात पार्ने पहिलो राष्ट्र बनाउनुका साथै आफ्नै भूमिमा विश्वकप उचाल्ने पहिलो टोलीका रूपमा पनि इतिहास रच्न सफल भयो । तेस्रो पटक टी-२० विश्वकप जित्ने विश्वकै पहिलो टोली पनि भारत नै बन्यो ।
फाइनल खेलको प्रारम्भ नै भावनाले भरिएको क्षणबाट सुरु भएको थियो । सन् २००७ को विश्वकप विजेता कप्तान महेन्द्र सिंह धोनी र सन् २०२४ का विजेता कप्तान रोहित शर्मा ट्रफी बोकेर मैदानमा प्रवेश गर्दा अहमदाबादको नरेन्द्र मोदी स्टेडियम गुञ्जयमान बनेको थियो ।
टस जितेर न्युजिल्यान्डका कप्तान मिचेल स्यान्टनरले पहिले फिल्डिङ रोजे, तर खेल सुरु हुनासाथ त्यो निर्णय गल्ती सावित भयो । भारतीय ओपनर सञ्जु स्यामसन र अभिषेक शर्माले सुरुदेखि नै आक्रामकता देखाउँदै न्युजिल्यान्डलाई दबाबमा राखे । पावर प्लेमै विना कुनै विकेटको क्षतिमा ९२ रन जोड्दा भारतीय ब्याटिङको आाधीले खेलको दिशा तय गरिसकेको थियो ।
दुवैले पहिलो विकेटका लागि ९८ रनको साझेदारी गर्दै टी-२० विश्वकप फाइनल इतिहासकै सबैभन्दा ठूलो ओपनिङ साझेदारीको कीर्तिमान बनाए । अभिषेक शर्मा २१ बलमा ५२ रनको विस्फोटक इनिङ्स खेल्दै आउट भए, तर त्यसपछि क्रिजमा आएका ईशान किशनले सञ्जु स्यामसनसँग मिलेर आक्रामकता झनै बढाए ।
सञ्जु र ईशानको जोडीले दोस्रो विकेटका लागि केवल ४८ बलमा १ सय ५ रनको आतिशी साझेदारी गरे । निर्भिक ब्याटिङले भारतीय टोलीलाई १५ ओभरमै २ सय रनको आंकडा पार गरायो । एक समय त भारतले ३ सय रन नजिक पुग्ने संकेत देखाएको थियो ।
यद्यपि १६औं ओभरमा जिमी निशमले तीन विकेट लिँदै खेललाई केही समयका लागि नियन्त्रणमा ल्याए । उनले सञ्जु स्यामसन ८९ रन, ईशान किशन ५४ रन र कप्तान सूर्यकुमार यादवलाई शून्य रनमै आउट गरे । केही समय रन गतिमा गिरावट आएपनि अन्तिम ओभरमा शिवम दुबेले विस्फोटक ब्याटिङ गर्दै तीन चौका र दुई छक्का प्रहार गरे । भा
रतले पाँच विकेट गुमाएर २ सय ५५ रनको विशाल योगफलसम्म पुर्यायो । जुन टी-२० विश्वकप फाइनल इतिहासकै सबैभन्दा ठूलो स्कोर बन्यो । २ सय ५६ रनको असम्भवजस्तो लक्ष्य पछ्याउन मैदानमा उत्रिएको न्युजिल्यान्डको सुरुवात राम्रो भएन । पावर प्लेमै तीन विकेट गुमाउँदा टोली दबाबमा आयो । फिन एलेन ९ रन, रचिन रविन्द्र १ रन र ग्लेन फिलिप्स ५ रनमा आउट हुँदा न्युजिल्यान्डको आशा कमजोर बन्दै गयो ।
ओपनर टिम साइर्फटले २६ बलमा ५२ रनको अर्धशतकिय इनिङ्स खेल्दै केही समय लड्ने प्रयास गरे । कप्तान मिचेल स्यान्टनरले पनि ४३ रन जोड्दै टोलीलाई टिकाउने प्रयास गरे । तर भारतीय बलिङ आक्रमणको अगाडि न्युजिल्यान्ड धेरै समय टिक्न सकेन । अन्ततः टोली १९ ओभरमै १ सय ५९ रनमा समेटियो ।
भारतीय फास्ट बलर जसप्रित बुमराहले १५ रन खर्चेर चार विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे र फाइनलको 'प्लेयर अफ द म्याच' घोषित भए । प्रतियोगिता भर पाँच खेलमा तीन अर्धशतकसहित ३ सय २१ रन बनाएका सञ्जु स्यामसन 'प्लेयर अफ द टूर्नामेन्ट' बने ।
जितसँगै भारतले तीन वर्षभित्र तेस्रो आईसीसी ट्रफी जित्ने गौरव पनि प्राप्त गर्यो । सन् २०२४ मा टी-२० विश्वकप, सन् २०२५ मा च्याम्पियन्स ट्रफी र सन् २०२६ मा पुनः टी-२० विश्वकप जित्दै भारतले विश्व क्रिकेटमा आफ्नो प्रभुत्व पुनः स्थापित गरेको छ ।