क्रिस्टियानो रोनाल्डो स्पेनिस क्लब अल्मेरियाको सहमालिक

फाल्गुन १५, २०८२ |खेल ब्युरो
क्रिस्टियानो रोनाल्डो स्पेनिस क्लब अल्मेरियाको सहमालिक

काठमाडौं । क्रिस्टियानो रोनाल्डो स्पेनिस क्लब अल्मेरियाको सहमालिक बनेका छन् । 

पोर्चुगिज फरवार्ड रोनाल्डोले दोस्रो डिभिजनमा रहेको अल्मेरियाको २५ प्रतिशत सेयर खरिद गरेका हुन् । ४१ वर्षीय रोनाल्डोले भर्खरै स्थापना भएको सी-आर सेभेन स्पोर्ट्स इन्भेस्टमेन्ट कम्पनीमार्फत अल्मेरियाको सेयर किनेका हुन् । 

यो क्लब मोहम्मद अल खेरेइजी नेतृत्वको साउदी अरेबियन इन्भेस्मेन्ट कम्पनीको स्वामित्वमा छ । अल्मेरिया सन १९८९ मा स्थापना भएको हो । रोनाल्डोले कति रकम लगानी गरेका हुन भने विस्तृत आर्थिक विवरण दिइएको छैन् । तर अल नासार फरवार्डले क्लबको विकासका लागि योगदान दिन नेतृत्व टीमसँग काम गर्न उत्सुक रहेको उल्लेख गरेका छन् । 

पिच भन्दा बाहिर फुटबलमा योगदान गर्ने आफ्नो यो लामो समय देखिको महत्वकांक्षा रहेको रोनाल्डोको भनाइ छ । क्लबका अध्यक्ष अल खेरेइजीले रोनाल्डो स्पेनिस फुटबलबारे पुर्णरूपमा जानकार रहेको प्रतिक्रिया दिए । रोनाल्डोले नौ वर्ष स्पेनिस लिगमा विताएका थिए । 

उनले रियाल मड्रिडबाट खेल्दै ला लिगा र च्याम्पियन्स लिग उपाधि जिते । उनी सन् २०१८ मा रियालबाट इटालियन क्लब युभेन्टस गएका थिए । २०२२ यता उनी साउदी प्रो लिग अल नासारमा आबद्ध छन् । एक दशक अघिसम्म रोनाल्डो फुटबल पछिको जीवनबारे सोच्न पनि चाहदैनन् थिए । तर उनका नजिकका साथीले फुटबलबाट सन्यास लिएसँगै जीवन चलाउने योजना नबनाए कोल्याप्स हुने चेतावनी दिएपछि रोनाल्डोले व्यापारमा लगानी सुरू गरेका हुन् । 

२०१६ मा होटलमा लगानी गर्दै व्यावसाय सुरू गरेका हुन् ।