
सर्लाही । कुनै समय पार्टीमा सँगै रहेर अहिले प्रतिस्पर्धी बनेका कांग्रेस सभापति गगन थापा र रास्वपा उम्मेदवार अमरेशकुमार सिंहको उम्मेदवारीका कारण सर्लाही ४ चर्चामा छ ।
यहाँ दलीय १३ र स्वतन्त्र २५ गरी ३८ जना उम्मेदवार भए पनि मुख्य प्रतिस्पर्धा थापा र सिंहकै भएको अड्कलबाजी हुँदै आएको छ । थापाको उम्मेदवारीलाई कांग्रेसले मधेश प्रदेशमा पार्टीको विरासत फर्काउने रणनीतिका रूपमा अर्थ्याएको छ । तर थापाको अगाडि चुनौतीको पहाड बनेर उभिएका छन्- सिंह ।
अहिले पनि आधारभूत सुविधाकै माग गरिरहेका सर्लाही-४ का मतदातालाई कसले फकाउन सक्ला ? कुन-कुन आधारमा कुन उम्मेदवार बलिया छन् ? हेरौँ सर्लाही-४ को ग्राउन्डजिरो ।
संवेदनशील क्षेत्रको वजनदार लडाइँ हो, सर्लाही-४ को निर्वाचन । प्रधानमन्त्रीको दाबेदारका रूपमा अघि सारिएका नेपाली कांग्रेसका सभापति गगन थापा र प्रधानमन्त्रीकै अर्का दाबेदार रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहका वफादार हुन खोजिरहेका अमरेशकुमार सिंहबीचको सिँगौरीले यहाँको प्रतिस्पर्धालाई रोचक बनाएको छ ।
छोराछोरी अमनिशकुमार यादव र मधुमालाकुमारी दुवैलाई उम्मेदवार बनाउने शिवपुजन यादवको रणनीतिले त यहाँ त्रिकोणात्मक भिडन्त निश्चितप्रायः छ । यहाँ त भोटका लागि तीन चार वटा पार्टीको लडाइँ छ । त्यसले गर्दा कसले जित्छ कसले हार्छ भन्न सकिँदैन । जनमत पार्टी पनि बलियो बनेर आएको छ । अमरेशजी पनि हुनुहुन्छ अनि शिवपुजनले छोरलाई उठाउनुभएको छ । उनी धेरै मत ल्याउने उम्मेदवार हुन् ।
१ लाख २१ हजार १२ जना मतदाता रहेको सर्लाही क्षेत्र नम्बर ४ उम्मेदवारहरूकै कारणले चर्चामा छ । आम मानिसले कुन उम्मेदवारले यहाँबाट जित्ला भनेर अड्कलबाजी गरिरहँदा यो क्षेत्र शिक्षा स्वास्थ्य सामाजिक सचेतनाजस्ता आधारभूत सूचकांकमा राष्ट्रिय औसतभन्दा निकै तल रहेकोबारे भने कमै मात्रै चर्चा हुने गरेको छ ।
उम्मेदवारहरूका कारण सर्लाही ४ जति चर्चित छ उति नै दयनीय छन् यहाँका विकास सूचकांक । यहाँको आधा जनसंख्या निरक्षर छ । राष्ट्रिय तथ्यांक कार्यालयको निर्वाचन क्षेत्रअनुसारको जनसांख्यिक प्रतिवेदनअनुसार सर्लाही ४ मा ५४.७ प्रतिशत मानिस मात्रै साक्षर छन् । महिला साक्षरता त झन् ४६.५ प्रतिशत छ । अरू त अरू मध्यमस्तरको स्वास्थ्य जोखिम भएको परिवार यहाँ ५५.७ प्रतिशत छन् । यो कतिसम्म गम्भीर विषय हो भने, यसको राष्ट्रिय औसत २५.३ प्रतिशत मात्र छ ।
स्वास्थ्य र शिक्षाबाहेक सञ्चारको पहुँच, खानेपानीको विस्तार, सुरक्षित आवासजस्ता थुप्रै आँकडामा पनि सर्लाही ४ देशका विपन्न भनिएका क्षेत्रको हाराहारीमा पर्छ । यहीँकै करिब ३५ प्रतिशत बालिकाको उमेर नपुगी विवाह हुने अर्को ठूलो सामाजिक समस्या छ । यो किन पनि उल्लेख्य छ भने, यी मुद्दा यहाँका उम्मेदवारको प्राथमिकतामै छैनन् ।
यहाँ चलेको नारा हो त केवल- अबकी बार गगन सरकार, अबकी बार बालेन सरकार, अबकी बार जेन-जी सरकार । सर्लाही ४ विगतदेखि नै कांग्रेसको प्रभाव क्षेत्र हो । अघिल्लो निर्वाचनमा पनि कांग्रेसका बागी उम्मेदवार अमरेशकुमार सिंह यहाँबाट स्वतन्त्र उठेर निर्वाचित भएका थिए ।
यसपालि कांग्रेसका सभापति नै प्रतिस्पर्धी भएकाले थापालाई थोरै अनुकूलता देखिन्छ । तथापि, सिंहको विरासत र रास्वपाप्रति मतदाताको रूझानले समीकरण बदलिने प्रबल सम्भावना छ । यहाँको अर्को निर्णायक पक्ष जातिगतरूपमा विभाजित हुने भोट पनि हो । झन्डै ६० प्रतिशत हिस्सा यादव, महतो, सिंहलगायतका जातिसमूहले ओगट्ने सर्लाही ४ मा विगतका चुनावी परिणाम हेर्दा यी समुदायले अनुमोदन गरेका उम्मेदवार नै विजयी हुने गरेका छन् ।
योसँगै जोडिन्छ, ‘भित्रिया’ र ‘बाहिरिया’ उम्मेदवार भनिने भाष्य । थापाको प्रतिकूलता पनि यही हो भने सिंह र यादवले यही आधारमा मत संख्या बढाउन सक्छन् । मधेसको मुद्दाको कार्यभार कसले बोक्नसक्छन् भनेर पनि मतदाताले निर्णय गर्ने आधार छ ।
सिँचाइ, रोजगारी, सडक र मलखाद तथा बीउविजनजस्ता अति आधारभूत माग राखेको सर्लाही ४ को निर्वाचन थापा र सिंहको व्यक्तित्वमै केन्द्रित हुँदा आफूहरूको अजेन्डा ओझेल परेको अरू उम्मेदवारहरूको गुनासो छ । जनमत पार्टीका उम्मेदवार राकेश मिश्र दुवैको मुद्दाभन्दा व्यक्तित्व केन्द्रित चुनावी प्रचार भएकामा असन्तुष्ट हुनुहुन्छ ।
सिंह परीक्षण भइसकेका र थापा बाहिरिया भएकाले यस क्षेत्रको समस्या निराकरण आफूले मात्रै गर्नसक्ने दाबी गर्नुहुन्छ । यस्तै दाबी छ, नेकपाका उम्मेदवार रजनीश यादवको पनि । अघिल्लो चुनावमा कांग्रेससँग गठबन्धन गरेकाले उम्मेदवारी नदिए पनि यसपटक आफ्नो दलको वास्तविक शक्ति परीक्षण हुने बताउनुहुन्छ ।
व्यक्तित्व केन्द्रित चुनावी माहोलले यसपटक साना भनिएका दलका उम्मेदवारलाई मात्र होइन स्थानीयका माग र मर्कालाई पनि ओझेल पारेको छ । हामीले सर्लाही ४ का गाउँबस्ती चहार्दा यहाँका मतदाताले विकासको चाहना राखेको प्रस्ट देखिन्छ । सडक, सिँचाइ, रोजगारी र शिक्षाजस्ता कुरामा आफ्नो पहुँच विस्तार होस् भन्ने उनीहरूको चाहना छ ।
सबैभन्दा महत्त्वपूर्ण, खेतीबाली गर्न समैयमै मल बीऊ पाइयोस् र मरिमेटी खेती गरिएको उखुको भुक्तानी समयमै होओस् भन्ने चाहन्छन् । जसले यी माग पूरा गर्छन्, सर्लाही ४ ले उसैलाई अनुमोदन गर्नेछ ।