प्रधानमन्त्री दावेदारका प्रतिज्ञा पत्रमा खेलकुद : कसको कस्तो प्राथमिकता ?

फाल्गुन १२, २०८२ |विनयज्योति सापकोटा
प्रधानमन्त्री दावेदारका प्रतिज्ञा पत्रमा खेलकुद : कसको कस्तो प्राथमिकता ?

काठमाडौं । आसन्न निर्वाचनका लागि नेपाली कांग्रेसले गगन थापा, नेकपा (एमाले)ले केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेका छन् । 

उनीहरूले आ-आफ्ना क्षेत्रका लागि वाचा वा प्रतिज्ञा पत्र पनि सार्वजनिक गरे । यी नेताले आफ्ना क्षेत्रमा खेलकुद विकासमा कस्ता घोषणा समावेश गरेका छन् त ?

एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीका उम्मेदवारका रूपमा अघि सारेका केपी शर्मा ओली र बालेन्द्र शाह झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिस्पर्धा गर्दैछन् । यी दुवै उम्मेदवारले खेलकुदका फरक फरक मुद्दा प्राथमिकतामा राखेका छन् । रास्वपाका वरिष्ठ नेता शाहले यो क्षेत्रको ग्रासरूट खेलकुदलाई प्राथमिकतामा राख्नुभएको छ । 

उहाँको घोषणा पत्रमा बहुआयामिक खेलकुद एकेडेमी निर्माण गर्ने, दमक गोल्डकपलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने समावेश छ । उहाँको प्रतिबद्धता पत्रको तेस्रो बुँदामा खुल्ला खेल मैदान संरक्षण तथा स्तरोन्नति गर्ने उल्लेख छ । यसैगरी एमाले अध्यक्ष ओलीले भने ग्रासरूट खेलकुदभन्दा पूर्वाधार निर्माणमा जोड दिनुभएको छ । 

प्रत्येक पालिकामा एक-एक सुविधा सम्पन्न खेलमैदान निर्माण र क्रमशः वडा स्तरमा खेलमैदान विस्तार गर्ने उहाँको घोषणा छ । विगतमा आफू सरकारमा हुँदा दमकमा स्पोर्ट्स कम्प्लेक्स नै बनाउने योजना अघि सारेका ओलीले दुई वटा रंगशाला निर्माणको घोषणा गर्नभएको छ । 

उहाँले दमक नगरपालिका वडा नम्बर ३ मा प्रस्ताव गरिएको मदन भण्डारी रंगशाला निर्माणमा पहल गर्ने र कमल गाउँपालिका-५ को आदिवासी रंगशालालाई आधुनिक स्तरको रंगशालाका रूपमा निर्माण सम्पन्न गर्न पहल गर्ने उल्लेख गर्नुभएको छ ।

यता नेपाली कांग्रेसका सभापति गगन थापाको प्रतिज्ञा पत्रमा भने खेलकुद प्राथमिकतामा छैन । घोषणापत्रमा खेलकुदका पूर्वाधारको स्पष्ट कुरा उल्लेख छैन । उहाँले खेलकुदलाई आधुनिक र सबल बनाउँदै अत्यावश्यक पूर्वाधारको द्रुत विकास गर्ने घोषणा पत्रमा उल्लेख गर्नुभएको छ तर घोषणा पत्रमा खेलकुदले प्राथमिकता भने पाएको छैन ।


Image

विनयज्योति सापकोटा

सापकोटा कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।