निर्वाचनपछि १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता हुने

सरकारले पाँचौ पटक तोक्यो १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति
फाल्गुन १३, २०८२ |खेल ब्युरो
निर्वाचनपछि १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता हुने

काठमाडौंं । सरकारले १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता प्रतिनिधि सभा सदस्य निर्वाचनपछि गर्ने निर्णय गरेको छ । 

सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले बुधबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै निर्वाचनपछि १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिने जानकारी दिए । पटक-पटक मिति सार्ने क्रममा कर्णाली प्रदेशको सुर्खेतमा फागुन १ देखि ७ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने तालिका थियो ।

प्रारम्भमा २०८१ मंसिर १ देखि ८ का लागि तय गरिएको प्रतियोगिता पछि २०८१ चैत २३ देखि ३० र त्यसपछि २०८२ जेठ ३ देखि १० गते आयोजना गर्ने निर्णय गरिएको थियो । तत्कालीन खेलकुदमन्त्री बब्लु गुप्ताको कार्यकालमा प्रतियोगिता यही फागुन १ देखि ७ सम्म आयोजना गर्ने निर्णय गरिएको थियो । तर, तोकिएको मितिभन्दा ६ दिनपछि सरकारले प्रतियोगिता सार्ने निर्णय गरेको हो ।

दुई-दुई वर्षमा आयोजना हुनुपर्ने राष्ट्रिय खेलकुदको नवौं संस्करण २०७९ सालमा गण्डकी प्रदेशको राजधानी पोखरामा सम्पन्न भएको थियो । त्यसयता पाँच पटक मिति सारिए पनि प्रतियोगिता आयोजना हुन सकेको छैन । सरकारले आर्थिक वर्ष २०८२-८३ को बजेटमा १०औं राष्ट्रिय खेलकुद आयोजना गर्न ५४ करोड रूपैयाँ बजेट विनियोजन गरिसकेको छ ।