
काठमाडौं । देशकै सर्वाधिक चर्चित र सफल खेलाडी, फुटबलमा दक्षिण एसियाकै सान सावित्राको बारेमा यो कुरा सुन्दा तपाईँको मन पनि दुख्यो होला, होइन ?
साम्बालाई समेत यसरी सहयोग माग्नु पर्छ भने अर" खेलाडीको अवस्था के होला ? फेरी सोच्नु भयो होला अखिल नेपाल फुटवल संघ त आर्थिक र"पमा सम्पन्न छ, किन सकेन साम्बाको उपचार गर्न ? अन्तराष्ट्रिय स्तरमा नेपाललाई चिनाइरहेकी साम्बाको उपचारमा सरकारले किन ध्यान दिएन ? न सरकारले गर्यो न अरु कुनै निकायले।
त्यसैकारण साम्बा सामाजिक सञ्जालमा लेख्न बाध्य भइन्। अहिले सावित्राको उपचारमा सहयोग गर्ने र सहयोग गर्न तयार हुनेहरूको लामो लाइन छ । २४ घन्टाभित्र नेपाली बैङकमा १ करोड र न्युजिल्यान्डमा ४५ लाख रकम उठिसकेकाले साम्बाले सहयोग रोकिदिन आग्रह गरिसकेक छिन् ।
तर के सावित्राले यसरी सहयोगको याचना नै गर्नु पर्ने हो ?
सबैभन्दा पहिले बुझौँ साबित्रा भन्डारी को हुन् ?
राष्ट्रिय महिला फुटबल टीमकी कप्तान, राष्ट्रिय टीमबाट सर्वाधिक गोल गर्ने नेपाली खेलाडी, जसको नाममा छ ६६ गोल छ। नेपालमात्र होइन, दक्षिण एसियाकै सर्वाधक गोल गर्ने महिला खेलाडी । युरोपमा गएर व्यावसायिक फुटबल खेल्ने पहिलो नेपाली खेलाडी ।
हजारौं युवाको आइडल जसले सिंगो पुस्तालाई नै प्रेरित गरिरहेकी छिन् । फ्रान्समा होस् या अस्ट्रेलियालामा लिग खेलिरहँदा उनले चिनाउने नेपाल नै हो । सावित्रा हाल न्युजिल्यान्डको क्लब वेलिङटन फिनिक्समा आबद्ध छिन् । गत जनवरी ३ मा 'ए' लिग अन्तर्गत ब्रिसबेन रोअर्सविरुद्ध खेल्ने क्रममा विपक्षी गोलकिपरसँग ठोक्किँदा सावित्राको दायाँ घुँडामा गम्भीर चोट लागेको हो ।
पिक फर्ममा रहेकी सावित्राले तीन गोल पनि गरकी थिइन् । तर, चोटले उनलाई मैदानबाहिर पठायो। यसअघि पनि यहि चोटका कारण उनी एक वर्ष मैदानबाहिर रहेकी थिइन् । उनको उपचारमा ८० हजार डलर खर्च हुने बताइएको छ । सावित्राको उपचारका लागि जिम्मेवार उनको क्लब, एन्फा र सरकार पनि हो ।
सावित्राले सहयोगनै माग्नुपर्ने स्थितिमा कसरी पुगिन् ?
सावित्राको उपचार न्युजिल्यान्डमै क्लबले किन गरेन ? नेपालमा उपचार गर्न सकिन्न भन्ने प्रश्न पनि छन् । सावित्राले किन कतारको अस्पेटारमा नै उपचारको माग गरेकी हुन् ?
साम्बालाई जुन चोट लागेको छ, त्यो चोटबाट निको भएर मैदान फर्किएको उदारहण नेपालमा छैन । किनकी नेपालमा गरिने उपचार र रिह्याबबाट खेलाडी पहिलेकै फर्ममा फर्किएको उदाहरण छैन । यो चोटबाट सावित्रा स्वयं र फुटबलकै रोहित चन्द पुन मैदान फर्किए । दुवैले उपचार विदेशमै गरेका हुन् ।
साम्बाको घुँडाको एसीएलमा यसअघि शल्यक्रिया गरेर हालिएको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर चोट लागेको छ । एन्फा वार्षिक करिब डेढ अर्ब बजेट भएको संघ हो । एन्फाले चाहेको भए आफैं सावित्राको लागि च्यारिटी खेल, कर्पोरेट क्षेत्र, लगायतसँग सहयोग उठाउन पनि सक्थ्यो । तर, एन्फाले आफ्ना स्टार खेलाडीको उपचारमा ध्यान दिन चाहेन ।
अघिल्लोपटक कतार फुटवल संघसँगको सहकार्यमा एन्फाले सावित्रासहित अरू खेलाडीको उपचार गराएको थियो । सावित्राको फेसबुक स्ट्याटस आएपछि एन्फाले जनवरी ७ मा कतारलाई पत्र पठाएको जानकारी गरायो । तर त्यसपछिको अपडेट भने छैन।
गोल मसिन सावित्राको स्टेटसले नेपाली खेल र खेलाडीको वास्तविकता छर्लङग भएको छ । उनलाई सहयोग गर्न स्वयं राजनितक दल पनि अघि सरेका छन् । तर खासमा यसरी सहयोग माग्नुपर्ने स्थितिनै आउन नदिन र नितीगत रूपमा खेलाडीको सुरक्षा ग्यारेन्टी गर्न किन पहल भएन ? राष्टिय टिमको प्रशिक्षणमा भएको समय, प्रतयोगिताको अवधिमा खेलाडीको बीमा व्यवस्था छ । कल्याणकारी कोष पनि छ । तर, त्यो कोषबाट कति रकम प्राप्त हुन्छ , कहिले हुन्छ भन्ने भर नै हुँदैन।
सरकारले शक्ति भएका नेताको उपचारमा लाखौँमात्र होइन, करोडौं खर्चिएको उदाहरण हामीसँगै छ। त्यो खर्चका विषयमा विवाद नभएका होइनन् तर सत्य हो, खर्च भएको छ। तर खेलाडीका हकमा सरकार मौन छ। नागरिक राहत क्षतीपुर्ति तथा सहायता सम्बन्धीअनुसार राष्ट्रिय जीवनका महत्वपुर्ण व्यक्तिलाई बढीमा १५ लाख र कम्तिमा ५ लाखसम्म दिने व्यवस्था छ ।
साम्बाका हकमा यसमार्फत केही सहयोग हुन सक्थ्यो। तर पर्याप्त अझै होइन। सावित्राका लागि अर्थ मन्त्रालयमा व्यक्तिगत स्तरमा एउटा निवेदन परेको पाइयो । आधिकारिक रूपमा कसैले पनि पहल नगरेको अर्थ मन्त्रालयले जानकारी दिएको छ । बब्लु गुप्ता खेलकुद मन्त्री हुँदा पनि सावित्राको उपचारका लागि मौखिक जानकारी दिइएको थियो । तर, मन्त्रीले खेलकुदबारे कुरा ठूलै गरेका हुन्, सावित्राका लागि भने केही भएन।
यो सावित्रा भन्डारीको कथा मात्र होइन, सबै खेलाडीको स्थिति हो । नेपाली खेलप्रेमीलाई साम्बा फेरि मैदानमा फर्किएको हेर्नु छ। यसअघि पनि केही चोटको राम्रो उपचार नपाउँदा धेरै खेलाडी रिटायरमेन्टमा गएका छन्। चेतन घिमिरे, रविन श्रेष्ठ, पृथ्थु बास्कोटालगायतले पुन: उस्तै गरी पुनरागमन गर्न सकेनन् ।
राम्रो उपचार पाएको भए यीमध्ये केही अझै मैदानमै हुन्थे। नेपाली राष्ट्रिय टिमलाई साम्बाले अझै केही वर्ष उत्कृष्ट नतिजा दिन सक्छिन् । तर, त्यो सम्भव त्यतिबेला हुन्छ जब राज्यले साम्बाको गोल हान्ने खुट्टाको ख्याल गर्छ, उनको चोटग्रस्त घुँडाको उपचार गर्न सघाउँछ।
हो, अहिलेलाई एउटा निर्णय सरकारले गर्न सक्छ। तर नीतिगत सुधार भएन भने भोलि अर्की साम्बाले पनि यसैगरी हात फैलाउने अवस्था आउनेछ। देशका गौरवहरूले यसरी हात फैलाउनुपर्ने अवस्था हामीलाई पटक्कै मन परेको छैन, हो लज्जाबोध भइरहेको छ।