
काठमाडौं । नेपाली पुरूष राष्ट्रिय फुटबल टिमले घरेलु मैदानमा हङकङविरूद्ध मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ ।
अखिल नेपाल फुटबल संघ-एन्फाले सामाजिक सञ्जालमार्फत नेपाल र हङकङबीचको खेल चैत १२ गते दशरथ रंगशालामा आयोजना हुने जनाएको हो । एएफसी एसियन कप छनोटको तेस्रो चरणआन्तर्गत लाओसविरूद्धको आफ्नो अन्तिम खेलअघि नेपालले हङकङसँग खेल्न लागेको हो ।
नेपाल र लाओसबीचको खेल चैत १७ गते खेलिने तालिका छ । नेपाल यसअघि नै एसियन कपको दौडबाट बाहिरिइसकेको छ । नेपालले हङकङसँग एक वर्षमा दोस्रो पटक मैत्रीपूर्ण खेल खेल्न लागेको हो । गत वर्ष जुनमा भएको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो ।
सन् १९८८ मा पनि दुवै टिमले गोलरहित बराबरी खेलेका थिए । दुई टोलीबीच यो तेस्रो भेट हुने छ । फिफा वरीयतामा नेपाल १ सय ८२औं र हङकङ १ सय ५३औं स्थानमा छ ।