
काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान सावित्रा भण्डारीले आफ्नो खुट्टाको उपचारका लागि समर्थकमाझ सहयोग मागेकी छन्।
उनले राम्रो उपचारमा ८० हजार अमेरिकी डलरभन्दा धेरै लाग्ने भए पनि अखिल नेपाल फुटबल संघ-एन्फा र सरकारबाट सहयोग नपाएको भन्दै सामर्थकसँग सहयोगको अपील गरेकी हुन्। साम्बाले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै एन्फाले प्रशासनिक काम गर्न अस्वीकृत गरेको बताइन्।
यस्तै एन्फाले आफ्नो उपचारका लागि पाँच लाख मात्रै सहयोग गर्ने भएपछि उनले नेपाल सरकारसामू पनि आफ्नो उपचारका लागि माग गरेकी थिइन्। तर, सरकारबाट पनि सहयोग पाउने आशा नभएपछि उनले सामर्थकसँग सहयोग माग्नु परेको बताइन्। क्लबले बीमाबापतकाे रकम निकासा गरे पनि त्यो सातदेखि ८ महिनाको उपचारका लागि पर्याप्त नभएको उनको भनाइ छ।
पछिल्लो पटक एन्टेरियर क्रुसिएट लिगामेन्टमा चोट लागेपछि उनको उपचार कतारको एस्पेटार अस्पतालमा भएको थियो। त्यतिबेला हालिएको ग्राफ्ट र एमसिएल दुवैमा अहिले गम्भीर चोट लागेको उनको भनाइ छ। त्यसपछि उनी सात हप्तादेखि मैदानबाहिर छिन्।
अहिले उनको शल्यक्रिया सम्पन्न भइसकेर फिजियो सुरू भइसक्नु पर्ने थियो। तर, उनको क्लबले स्थानीय अस्पतालमा मात्रै उपचार गराउने बताए पनि उनले कतारमा उपचारपाए मात्रै आउने दिनमा राम्रो खेल पस्किन सक्ने बताएकी छन्। साम्बा न्युजिल्यान्डको वेलिङटन फिलिक्समा आबद्ध छिन् ।
साम्बा नेपाली फुटबलको सर्वकालिन सर्वाधिक गोलकर्ता हुन्। उनले नेपालका लागि ६० भन्दा धेरै अन्तर्राष्ट्रिय गोल गरेकी छन्। नेपाली टिमको कप्तानसमेत रहेकी साम्बा दक्षिण एसियाकै सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने महिला खेलाडीसमेत हुन्। उनी युरोपमा व्यवसायिक फुटबल खेल्ने पहिलो नेपाली खेलाडी हुन् ।
