
काठमाडौं । फागुन २१ को निर्वाचनमा कुनै एक दलले एकल बहुमत प्राप्त गर्ने सम्भावना नरहेको प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष परिषद्का अध्यक्ष सन्तोष परियारले बताउनुभएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी-रास्वपा, नेकपा (एमाले) वा अरू कुनै दलले बहुमत ल्याउने दाबीहरू पूरा हुने सम्भावना नरहेको परियारको भनाइ छ। कान्तिपुर टेलिभिजनको साप्ताहिक कार्यक्रम ‘फायरसाइड’मा कुरा गर्दै परियारले यस्ता दावाहरू हावा भएको स्वीकार गर्नुभयो।
जेन-जी आन्दोलनपछि गठन भएको आफ्नो दल भने राष्ट्रिय पार्टी बन्ने विश्वास परियारको छ। राम्रो भएमा १५ देखि २० नभए ५ देखि १० सिटसम्म जित्ते परियारको विश्वास छ। रास्वपाले भनेजस्तो उसको एकल बहुमत आउने सम्भावना नरहेको पनि परियारले बताउनुभयो।
रास्वपामात्र होइन, एमाले वा अर्को कुनै दलको समेत बहुमत आउने सम्भावना नरहेको परियारको बुझाइ छ। विघटित संसद्मा रास्वपाका प्रमुख सचेतकसमेत रहनुभएका परियारले रास्वपा किन छोड्नुभयो ? रास्वपालाई धोका दिएको र रास्वपाकै कतिपय नेताले परियारलाई लगाएको अवसरवादीको आरोपबारे साेधिएकाे प्रश्नमा उहाँले भन्नुभयाे, 'मैले धोका दिएको होइन। अवसरवादी पनि होइन। अवसरकै कुरा गर्ने हो भने त रास्वपामै मलाई निकै ठूलो अवसर थियो।'
रास्वपाको नेतृत्व, बालेन्द्र शाहको प्रवेशपछिको रास्वपाको विषयसहित स्वयं प्रलोपाको विचारसम्मका विषयमा परियारको मत के छ ? परियारसँग यसलगायतका विषयमा गरिएको पूरा अन्तर्वार्ता साेमबार राति ९ बजे कार्यक्रम ‘फायरसाइड’मा प्रसारण हुनेछ। कार्यक्रम हाम्रो युट्युब च्यानल र कान्तिपुर टिभि एपमा पनि हेर्न सकिनेछ।