
धादिङ । दैनिक हजारौं सवारी आवतजावत गर्ने राजमार्गहरू सुरक्षाका हिसाबले निकै सम्वेदनशील हुन्छन् ।
दैनिक हजारौं सवारी गुड्ने राजमार्ग लाइफ लाइन पनि हुन् । तर त्यहाँ भइरहने दुर्घटना रोकथाम र क्षति न्यूनीकरण गर्न राज्यको ध्यान पुगेको देखिन्न । दुर्घटनापछि उद्धारका लागि पुगेकासमेत रित्तो हात रमिते बन्नु पर्छ । जसका कारण घाइतेले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था आउने गरेको छ ।
सोमबार बिहान पोखराबाट काठमाडौंतर्फ जाँदै गरेकाे ग २ ख १४२१ नम्बरको यात्रु बस पृथ्वी राजमार्गअन्तर्गत धादिङको चरौदि नजिकै चाईनिज धारामा दुर्घटना हुँदा कम्तीमा १९ यात्रुको निधन भयो । अन्य २५ जना घाइते भए । बस सडकबाट झन्डै सय मिटर तर त्रिशूली किनारमा खसेको थियो ।
मध्यरातमा भएको दुर्घटना र निकै कठिन भूगोल भएका कारण उद्धारमा सकस भयो । बस खसेको थाहा पाउने वित्तिकै उद्धारका लागि घटनास्थल पुगेका स्थानीय र सुरक्षाकर्मीले केही गर्न सक्ने अवस्था रहेन । पर्याप्त उपकरणको अभावमा उद्धारमा कठिनाइ हुँदा समयमा उपचार नपाइ ज्यान गुमाएकाहरू हेरीरहनुपर्ने अवस्थामा उद्धारकर्मीहरू रहे ।
त्यसो त माघ २२ गते बैतडीमा जन्ती बस दुर्घटनामा १३ जनाको मृत्यु भएको थियो भने २७ जना घाइते भए । माघ २७ मा रामेछापको सेलेघाट मा भएको दुर्घटनामा नदीमा डुवेका यात्रुको समयमा नै उद्धार हुन सकेन र १२ जनाको ज्यान गयो । त्यसैले निरन्तरता पायो सोमबार धादिङमा भएको दुर्घटनामा पनि । यी सबै दुर्घटनामा उद्धारकर्मी पुगे पनि पर्याप्त उपकरणको अभावमा समयमा नै घाइतेको उद्धार हुन सकेन ।
सोमबार भएको दुर्घटनापछि विगतमा जस्तै सरकारले छानबिन समिति बनाउने निर्णय गरेको छ । ठुला दुर्घटनापछि छानबिन समिति बन्छ र पर्याप्त सामाग्री अभाव औल्याउँछ पनि तर यति धेरै मानविय क्षति ब्यहोर्दा समेत उद्धारमा खटिने सुरक्षाकर्मीलाई प्रविधि युक्त नबनाउँदा घटनास्थल पुग्ने सुरक्षाकर्मीले समयमा नै उद्धार गर्न सक्ने अवस्था छैन ।
राजमार्ग क्षेत्रमा दैनिक हुने ठुला दुर्घटनामा समयमा उद्धार र उपचार नपाएर जीवन गुमाउनेको संख्या दिनानु दिन बढिरहँदा पनि सडक सुरक्षामा राज्यको चासो कम हुँदा चालक र सवारी प्रयोगकर्ता त्रासमा यात्रा गरिरहेका छन् भने उद्धारका लागि खटिने स्थानीय र सुरक्षाकर्मी दुर्घटनास्थलमा बिना उपकरण जीवन बचाउन संघर्ष गरिरहेका छन् ।