
अर्घाखाँची । अर्घाखाँचीमा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार पुष्करनाथ आचार्यले उम्मेदवारी फिर्ता लिनुभएकाे छ ।
प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट प्रत्यक्षतर्फ उम्मेदवार रह्नुभएका आचार्यले सोमबार एक विज्ञप्ति जारी गर्दै देशको वर्तमान असहज परिस्थितिका कारण चुनावी प्रतिस्पर्धामा रहिरहन उपयुक्त नदेखिएको जनाउनुभएकाे हाे ।
उक्त विज्ञप्तिमा उहाँले आजकै मितिदेखि आफ्नो उम्मेदवारी फिर्ता लिएको जानकारी गराउँदै अर्घाखाँचीका आम मतदाता तथा सम्पूर्ण नागरिकसमक्ष विनम्रतापूर्वक निर्णय सार्वजनिक गर्नुभएकाे छ । आचार्यले लोकतान्त्रिक मूल्य-मान्यता, सुशासन, समावेशिता, संघीयता र सामाजिक न्यायको पक्षमा आफ्नो प्रतिबद्धता कायम रहने उल्लेख गर्नुभएकाे छ ।
उहाँले मतदातालाई आफ्नै विवेक प्रयोग गरी सही व्यक्ति र सहि नीतिलाई समर्थन गर्न आग्रह गर्दै राष्ट्रको समृद्धि र अग्रगमनका लागि जिम्मेवार निर्णय लिन अनुरोध गर्नुभयाे । केही समय पहिला गोरखाबाट डाक्टर बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएसँगै आचार्यले पनि उम्मेदवारी फिर्ता लिएको घोषणा गर्नुभयो।