टी-२० विश्वकपको सुपर ८ मा आज जिम्बाब्वे र वेस्ट इन्डिज भिड्दै

फाल्गुन ११, २०८२ |खेल ब्युरो
टी-२० विश्वकपको सुपर ८ मा आज जिम्बाब्वे र वेस्ट इन्डिज भिड्दै

काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकपको सुपर ८ को चौथो खेलमा साेमबार जिम्बाब्वे र वेस्ट इन्डिजले प्रतिस्पर्धा गर्दैछन् । 

मुम्बईस्थित वानखडे रंगाशालमा हुने खेल नेपाली समय अनुसार साेमबार साँझ सभा ७ बजे हुनेछ । टी-२० विश्वकपको दशौँ संस्करण अहिले रोमाञ्चक मोडमा पुगेको छ। जिम्बाब्वेको लागि यो प्रतियोगिता अहिलेसम्म एउटा फेयरीटेल जस्तै बनेको छ । पछिललो दुई संसकरणको विश्वकपमा सहभागीताबाटै चुकेको अफ्रिकन टोली यसपटक भने समूह चरणमा अस्ट्रेलिया र श्रीलंङका जस्ता दिग्गज टोलीहरूलाई स्तब्ध पार्दै सुपर ८ मा पुग्न सफल भएको हो ।

जिम्बाब्वेका कप्तान सिकन्दर राजा हाल आईसीसी टी-२० अलराउन्डर वरीयतामा दोस्रो स्थानमा छन् । उनले जिम्बाब्वेका लागि १३० खेलमा २ हजार ९५८ रन बनाउनुका साथै १०३ विकेट समेत लिएका छन् । टोलीका युवा स्टार ब्रायन बेनेट यस प्रतियोगितामा जिम्बाब्वेका लागि सर्वाधिक रन बनाउने खेलाडी हुन् ।

त्यसैगरी, बलिङमा ९ विकेट लिएका ब्लेसिङ मुजाराबानी उत्कृष्ट लयमा देखिन्छन् । यता, दुई पटकको विश्व च्याम्पियन वेस्ट इन्डिज यो खेलमा प्रमुख दाबेदारको रूपमा मैदान उत्रिनेछ । कप्तान साई होपको नेतृत्वमा वेस्ट इन्डिजले यसपटक सन्तुलित खेल पस्किएको छ। टोलीसँग सिम्रन हेटमायर, निकोलस पुरन र शेरफेन रदरफोर्ड जस्ता विस्फाेटक ब्याटरहरूको साथ छन्, जसले वानखेडेको छोटो बाउन्ड्रीको फाइदा उठाउन सक्छन् ।

ऐतिहासिक रेकर्डलाई हेर्दा टी-२० अन्तर्राष्ट्रियमा वेस्ट इन्डिजको बर्चस्व देखिन्छ । यी दुई टोलीबीच भएका कुल ११ खेलमध्ये वेस्ट इन्डिजले ८ र जिम्बाब्वेले ३ खेल आफ्नो पक्षमा पारेको छ । टी-२० विश्वकपको इतिहासमा भने यी दुई टोली २०२२ मा भिडेका थिए, जहाँ वेस्ट इन्डिज ३१ रनले विजयी भएको थियो ।

ऐतिहासिक रूपमा वेस्ट इन्डिज हाबी देखिए पनि जिम्बाब्वेको वर्तमान लयले खेललाई कडा प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको छ ।