विश्व क्रिकेटमा नेपालको सशक्त सन्देश

फाल्गुन ६, २०८२ |सुवास रोकाया
विश्व क्रिकेटमा नेपालको सशक्त सन्देश

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ नेपालका लागि अपेक्षित नभए पनि नेपाली क्रिकेट विश्वभर चर्चाको विषय बन्यो । 

समूह चरणबाट बाहिरिए पनि नेपालले विश्व क्रिकेटलाई आफू सक्षम रहेको स्पष्ट सन्देश दियो । स्कर्टल्यान्डलाई पराजित गरेसँगै सन् नेपालले २०१४ याताको लामो प्रतीक्षापछि अन्ततः अन्त्य गर्दै ४ हजार ३ सय ५२ दिनपछि विश्व कपमा जित हात पार्यो । इंग्ल्यान्डलाई कडा चुनौती दिए पनि लाइन पार गर्न नसकेको नेपालले इटाली र वेस्ट इन्डिजविरुद्ध बिर्सिन लायक प्रदर्शन गर्यो । 

क्रिकेटिङ राष्ट्रको रूपमा नेपाल यसपटक वैस्विक चर्चामा रहे पनि सुधार्नुपर्ने पक्ष धेरै छन् । नेपालले आईसीसी टी-२० विश्वकप २०२६ मा आत्मविश्वासका साथ सुरूवात गर्‍यो । इंग्ल्यान्डविरूद्ध १ सय ८५ रनको लक्ष्य पछ्याउने क्रममा ४ रनको झिनो हार बेहोरेको नेपालको चर्चा विश्वभर भयो । 

पूर्ण सदस्य राष्ट्रविरूद्ध गरेको यस प्रदर्शनले विश्वभर नेपाली क्रिकेट चर्चामा रह्याे । अझ रोचक कुरा, कुनै पनि खेलाडीले अर्धशतक नबनाइ यस्तो स्कोर बनाउनु टोलीको सामूहिक योगदानको प्रमाण थियो । इंग्ल्यान्डसँगको उत्कृष्ट प्रदर्शनपछि अपेक्षा उचाइमा पुगेको थियो । तर, इटालीविरुद्ध १० विकेटको हारले टोलीलाई कठोर यथार्थको ऐना देखायो । 

निकै खराब ब्याटिङ गर्दै १ सय २३ रनमा समेटिएको नेपालको बलिङ योजना कमजोर रहेको स्पष्ट पार्यो । पावर प्लेमै दबाब सिर्जना गर्न नसक्नु र डेथ ओभरमा विविधताको अभाव मुख्य समस्या बन्यो । वेस्ट इन्डिजविरूद्ध दिपेन्द्रसिंह ऐरीले ५८ रनको उत्कृष्ट इनिङ्स खेल्नुबाहेक अन्य खेलाडीको प्रदर्शन सम्झन लायक रहेन । 

तल्लो क्रममा सोमपाल कामीले दिपेन्द्रसँग मिलेर इनिङ्स सम्हाल्ने प्रयास गरेपनि त्यो पर्याप्त भएन । मुख्य प्रशिक्षक स्टुअर्ट लले सामाजिक सञ्जालका कारण खेलाडीको प्रदर्शनमा गिरावट आएको बताए । दुवै खेलको निराशाबीच स्कटल्यान्डविरुद्धको प्रतिष्पर्धा आशाको किरण बन्यो । 

१ सय ७१ रनको लक्ष्य पछ्याउँदै नेपालले अन्तिम ४ ओभरमा ५९ रन जोड्दै ऐतिहासिक जित दर्ता गर्‍यो । दिपेन्द्रसिंह ऐरीले २३ बलमै अर्धशतक प्रहार गरे । नेपालका लागि विश्वकपमा सर्वाधिक रन स्कोर गर्ने खेलाडी बनेका दिपेन्द्र २ अर्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बने । 

डेथ ओभरमा सानदार बलिङ गरेका सोमपाल नेपालका लागि विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडी बने । यो नेपालका लागि टी-२० विश्वकप इतिहासको तेस्रो जित थियो । सन् २०१४ पछि ४ हजार ३ सय ५२ दिनको लामो प्रतीक्षा स्कर्टल्यान्डसँगको जितसँगै समाप्त भयो ।

तर, नेपाली खेलाडीको कमजोरी पनि स्पष्ट देखिए । डेथ ओभरमा बलिङ अस्थिर रह्याे । विशेषतः इंग्ल्यान्डविरुद्ध अन्तिम तीन ओभरमा ४५ रन खर्चिनु महँगो साबित भयो । दबाबमा निर्णय क्षमता अझ परिपक्व हुन बाँकी छ । ओपनिङ र मध्यक्रमको अस्थिरताले प्राय: सबै खेलमा रन गतिमा गिरावट आएको थियो ।

अब आगामी दिनमा नेपालका लागि डेथ ओभर बलिङको विशेष अभ्यास, पावर हिटिङ विकास र रणनीतिक स्पष्टता आवश्यक देखिन्छ । लक्ष्यअनुरूप नेपाल २०२६ टी-२० विश्वकपको सुपर ८ सम्म त पुग्न सकेन तर, जितको खडेरी तोड्न सफल भयो । अब टोली आईसीसी विश्व कप लिग टू अन्तर्गत घरेलु सिरिजको तयारीमा लाग्ने छ ।


Image

सुवास रोकाया

रोकाया कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।