सहारा क्लब १२ वर्षपछि आहा रारा गोल्डकपको फाइनलमा

फाल्गुन ६, २०८२ |खेल ब्युरो
सहारा क्लब १२ वर्षपछि आहा रारा गोल्डकपको फाइनलमा

पोखरा । मनाङ मर्स्याङ्दी क्लबलाई ‘सडेन डेथ’मा हराउँदै आयोजक सहारा क्लब १२ वर्षपछि आहा रारा गोल्डकपको फाइनल प्रवेश गरेको छ ।

पोखरा रंगशालामा बुधबारको भएको पहिलो सेमिफाइनलमा सहारा क्लबले मनाङलाई सडेन डेथमा ७-६ गोलअन्तरले पराजित गरेको हो । निर्धारित ९० मिनेट र त्यसपछिको ३० मिनेट अतिरिक्त समयमा कुनै गोल नभएपछि खेल टाइब्रेकरमा पुगेको थियो । 

जसमा दुवै टोलीले ५-५ गोल गरेपछि सडेन डेथमा सहाराले बाजी मारेको थियो । मनाङका कप्तान सविन खड्काको पेनाल्टी विफल पार्दै सहाराका गोलकिपर टिकेन्द्र थापा नायक बने । सहाराले अब शनिबार उपाधिका लागि बिहिबार हुने दोस्रो सेमिफाइनलअन्तर्गत उज्वेकिस्तानको आभा क्लब र जावलाखेल क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।