
काठमाडौं । विश्व एम्पुटी फुटबल महासंघ र फिफाको सहयोगमा एम्पुटी खेलकुद समाज नेपालले आयोजना गरेको चौथो राष्ट्रिय एम्पुटी फुटबल च्याम्पियनसिप फागुन ४ गतेदेखि सुरू हुने भएको छ ।
आइतबार नेपाल पारालिम्पिक कमिटीको कार्यालय दशरथ रंगशाला त्रिपुरेश्वरमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी प्रतियोगिताबारे जानकारी दिइएको छ । सन् २०१८ मा स्थापना भएको एम्पुटी खेलकुद समाज नेपालले आयोजना गर्न लागेको यो चौथो राष्ट्रिय प्रतियोगिता हो ।
अपाङ्गता भएका व्यक्तिहरूले खेल्ने एम्पुटी फुटबलमा एउटा खुट्टा गुमाएका खेलाडीले मैदानमा अग्रपंक्तिमा खेल्छन् भने एउटा हात नभएका खेलाडीले गोलरक्षकको भूमिका निर्वाह गर्छन् । विशेष नियम र साहसले भरिएको यो खेलले खेलाडीहरूको अदम्य इच्छाशक्ति र आत्मविश्वासलाई प्रतिविम्बित गर्दछ ।
महासचिव दिल्ली बहादुर बिष्टका अनुसार प्रतियोगितामा विभागीयसहित चार टोलीको सहभागिता रहनेछ । सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश र नेपाल आर्मीका टोलीबीच प्रतिस्पर्धा हुनेछ । खेलहरू एन्फा खेल मैदान सातदोबाटोमा फागुन ४ र ५ गते बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुनेछन् ।
प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रम फागुन ५ गते मंगलबार दिउँसो १ बजे सोही मैदानमा हुनेछ । विजेता टोलीले रू १० हजार नगद पुरस्कार प्राप्त गर्नेछ भने उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकलाई पनि विशेष सम्मान प्रदान गरिनेछ ।
प्रतियोगितामार्फत अपाङ्गता भएका खेलाडीहरूको प्रतिभा प्रस्फुटन, खेलकुदमार्फत सामाजिक समावेशिता प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय स्तरमा सहभागिताको आधार तयार गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।