पुलिस क्लबलाई हराउँदै आयोजक सहारा क्लब आहा रारा पोखरा गोल्ड कपकाे सेमिफाइनलमा

फाल्गुन २, २०८२ |खेल ब्युरो
पुलिस क्लबलाई हराउँदै आयोजक सहारा क्लब आहा रारा पोखरा गोल्ड कपकाे सेमिफाइनलमा

पोखरा । नेपाल पुलिस क्लबलाई हराउँदै आयोजक सहारा क्लब २५ औँ संस्करणको आहा रारा पोखरा गोल्ड कप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेकाे छ ।

सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशालामा शनिबार भएको पहिलो क्वार्टरफाइनल खेलमा सहाराले पुलिसलाई पेनाल्टी सुटआउटमा ६-५ गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । पहिलो हाफ गोलरहित सकिएपछि दोस्रो हाफको ४९औँ मिनेटमा पुलिसका कप्तान राम वाजीले गोल गरेर टिमलाई आग्रता दिलाएका थिए । 

६१औँ मिनेटमा पुलिसका भक्तजन खड्काले डिबक्सभित्र मुकुन्द कुमारमाथि फाउल गरेपछि सहाराले पेनाल्टीको अवसर पाएको थियो । सोहि अवसरलाई सदुपयोग गर्दै मुकुन्दले गोल गरेपछि खेल १-१ को बराबरी अवस्थामा आएको थियो । खेलको निर्धारित समयमा १-१ गोल गरेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । 

अतिरिक्त ३० मिनेटको समयमा पनि दुवै टिमबाट थप गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो । पेनाल्टीमा ६-५ को नतिजा हात पारेपछि घरेलु टोली साहारले अन्तिम चारमा स्थान सुरक्षित गर्यो । प्रतियोगितामा आइतबार चर्ज ब्वाईज युनाईटेड र जवलाखेल युथ क्लबबिच प्रतिस्पर्धा हुने छ ।