.png&w=1000&height=550)
उदयपुर । उदयपुरको थारूहट रङ्गशाला गाईघाटमा जारी एन्फा उमन्स च्याम्पियनमा शनिबारको पहिलो खेलमा एफसी रियलविरूद्ध नेपाल पुलिसले १० गोलको वर्षा गरेको छ ।
मध्यन्तरअघि ६ गोल गरेको पुलिसले दोस्रो हाफमा चार गोल थपेको हो। पुलिसकी रेखा पौडेलले एक्लै ६ गोल गरिन् । उनले खेलको ११ मिनेटमा पहिलो, १२ मिनेटमा दोस्रो, ४५ मिनेटमा तेस्रो गोल गरेर ह्याट्रिक गरेलगत्तै अर्को एक गोल गरेर चार गोल पहिलो हाफमा गरिन् भने दोस्रो हाफको ७२ मिनेट र ७७ मिनेटमा दुई गोल थपिन्।
पुलिसकी मीना देउवाले १८ मिनेटमा गोल गरिन् भने दोस्रो हाफमा थप एक गोल गर्दै टिमलाई दुई गोल योगदान गरिन्। पूजा राणाले १४ मिनेटमा एक गोल गरिन् । खेलको म्यान अफ दी म्याच पुलिसकी रेखा पौडेल भइन्। खर अवधिभर एफसी रियललाई कडा दबाबमा राखेको थियो । एफसी रियलले एक गोल पनि फर्काउन सकेन ।
दोस्रो खेलमा चर्च ब्वाईज युनाइटेड काठमाडौंले छहारी युवा क्लबलाई १-० गोल अन्तरले हराएको छ । चर्च ब्वाईजकी वर्षा ओलीले ७८औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । यही फागुन ९ गते फाइनल खेल हुने प्रतियोगिता एन्फाको आयोजना तथा जिल्ला फुटबल संघ उदयपुरको सहआयोजनामा चलिरहेको हो ।
उपाधि विजेताले ७ लाख पाँच हजार र उपविजेताले ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।