
काठमाडौँ । नेपालले ट्वान्टी–२० विश्वकपको इटालीविरुद्धको खेलमा कमजोर ब्याटिङ गरेको छ । मुम्बईको वानखेडे रंगशालामा टस हारेपछि ब्याटिङको निम्तो पाएको नेपालले १९.३ ओभरमा १ सय २३ रनमा अलआउट भयो ।
नेपालको सुरुआत आशा गरे अनुसार राम्रो हुन सकेन । कुशल भुर्तेल दोस्रो ओभरमा १० बलमा ५ रन बनाई आउट भए । ६ ओभरमा ४६–१ को स्थितिमा रहेको नेपाल १० ओभरमा ६७–३ को स्थितिमा पुगेको थियो ।
कप्तान रोहित पौडल र आसिफ शेखलाई आउट गर्दै इटालीले खेलमा उत्कृष्ट थालनी गर्दै खेलमा फर्किएको थियो । क्रिसन कालुगामागेको बलमा रोहित बाउन्ड्री लाइनमा क्याच दिन पुगे । उनले १४ बल खेली २ छक्का प्रहार गर्दै २३ रन बनाए । दुई बलपछि आठौं ओभरमा आसिफ पनि बेन मानेन्टीको बलमा स्टम्प आउट हुन पुगे । आसिफले २० बल खेली २ चौका प्रहार गरि २० रन बनाए ।
दीपेन्द्रसिंह ऐरी १८ बलमा १७ रन बनाई बोल्ड आउट भए । उनले कुनै बाउन्ड्री प्रहार गर्न सकेनन् । लोकेश बम ३ रनमै आउट भए । उनले पनि ठूलो शट प्रहार गर्ने क्रममा बेन मानेन्टीको बललाई बाउन्ड्री लाइनमा क्याच दिन पुगे । ओपनिङ बलरको रुपमा आएका अफ ब्रेक बलर मानेन्टीले ४ ओभरमा ९ रनमात्र खर्चेर २ विकेट लिए ।