
काठमाडौं । प्लानिङ ब्वाईज युनाइटेड बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।
पोखराको लालीगुराँस एसोसिएसनविरुद्ध २-१ गोलअन्तरको पुनरागमन जित हात पार्दै प्लानिङ ब्वाईज पहिलो सहभागितामै उपाधि नजिक पुगेको हो । बुधबार धरान रंगशालामा भएको पहिलो सेमिफाइनल खेलको छैटौँ मिनेटमै सिद्धिकीले गोल गर्दै पोखरेली टिमलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफमा १-० को अग्रता लिएको लालीगुराँसले दोस्रो हाफमा भने दुई गोल बेहोर्न पुग्यो । खेलको ६०औँ मिनेटमा प्लानिङ ब्वाईजले प्राप्त गरेको पेनाल्टीलाई विलियम एलेक्सले गोलमा परिणत गर्दै खेल बराबरीमा ल्याए । खेल सकिन तीन मिनेट बाँकी हुँदा ८७औँ मिनेटमा प्रतापसिंह राईले निर्णायक गोल गर्दै प्लानिङको जित सुनिश्चत गरे ।
प्रतियोगितामा बिहीबार दोस्रो सेमिफाइनलअन्तर्गत झापा-११ र चर्च ब्वाईज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ ।