
काठमाडौै । नेपाल ट्वान्टी–२० विश्वकपमा इटालीसँग १० विकेटले पराजित भएको छ । पहिलो पटक विश्वकपमा खेलिरहेको इटालीले एकतर्फी रुपमा नेपाललाई हराउन सफल रह्यो।
मुम्बईको वानखडे रंगशालामा टस हारेपछि ब्याटिङको निम्तो पाएको नेपालले १९.३ ओभरमा १ सय २३ रनमा अलआउट भयो । मोस्का दाजुभाइ जस्टिन र एन्थोनीले आक्रामक ब्याटिङ गरेपछि इटालीले १२.४ ओभरमै लक्ष्य पूरा गर्यो । उनीहरुले नेपाली बलरलाई कुनै मौका नदिएपछि नेपाल ट्वान्टी–२० अन्तर्राष्ट्रियमा विकेटको हिसाबमा सबैभन्दा ठूलो हार स्विकार्न बाध्य भयो ।
पावर प्लेको पहिलो ६ ओभरमा बिना क्षति ६८ रन जोडेको इटालीले १० ओभरमा ९७ रन जोडेर विजयको औपचारिकतामात्र बाँकी राखेको थियो । जस्टिन ६० र एन्थोनी ६२ रन बनाई अविजित रहे । जस्टिनले ४४ बल खेल्दै ५ चौका र ३ छक्का तथा एन्थोनीले ३२ बल खेली ३ चौका र ६ छक्का प्रहार गरे ।
यसअघि हतारमा देखिएको नेपालको ब्याटिङ सुरुआत राम्रो हुन सकेन । ओपनर कुशल भुर्तेल दोस्रो ओभरमा १० बलमा ५ रन बनाई आउट भएपछि नेपालले सुरुआतदेखि दबाबमा खेलेको थियो । ६ ओभरमा ४६–१ को स्थितिमा रहेको नेपाल १० ओभरमा ६७–३ को स्थितिमा पुगेको थियो ।