टी-२० विश्वकपमा अस्ट्रेलियाकाे विजयी सुरूआत

माघ २८, २०८२ |खेल ब्युरो
टी-२० विश्वकपमा अस्ट्रेलियाकाे विजयी सुरूआत

काठमाडौं । अस्ट्रेलियाले टी-२० विश्वकपमा विजयी सुरूआत गरेको छ । 

बुधबारको दोस्रो खेलमा अस्ट्रेलियाले आयरल्यान्डलाई ६७ रनले हराएको हो । अस्ट्रेलियाले दिएको एक सय ८३ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड एक सय १५ रनमै अलआउट हुनपुग्यो । टस जितेर पहिले ब्याटिङ रोजेको अस्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ८२ रन बनायो । 

अस्ट्रेलियाका ओपनर कप्तान ट्रेभिस हेड ६ रनमा रनआउट भए पनि जोस इंग्लिस र क्यामरुन ग्रिनले ४९ रनको साझेदारी गरे । जोसले १७ बलमा ३७ रन बनाउँदा क्यामरूनले २१ रनको योगदान गरे । त्यसैगरी म्याट रेनशले ३७ रन बनाउँदा मार्कश स्टोइनिसले ४५ रनको योगदान गरे । आयरल्यान्डका मार्क अडयरले २ विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको आयरल्यान्डको कुनै पनि साझेदारी टिक्न सकेन । शीर्षदेखि पछिल्लो क्रमसम्मैले सम्हालिएर खेल्न नसक्दा आयरल्यान्ड १६ ओभर पाँच बलमा अलआउट भयो । उसका लागि चौथो नम्बरका लोरकन टुकरले २४ तथा आठौँ नम्बरका जर्ज डकरेलले ४१ रनको योगदान गरेका थिए । 

अस्ट्रेलियाका नाथन एलिज र एडम जाम्पाले चार चार विकेट लिँदै आयरल्यान्डको ब्याटिङ लाइनअप कोल्याप्स पारेपछि सन् २०२१ को उपाधि विजेताले जितबाट प्रतियोगिता सुरू गर्‍यो ।