एन्फाको अव्यवस्थित क्यालेन्डरले गोल्डकप प्रतियोगिताहरू भद्रगोल

मिति जुद्धा खेलाडीले न पाए आराम न त अभ्यासको मौका
माघ २८, २०८२ |अर्जुन सुवेदी
एन्फाको अव्यवस्थित क्यालेन्डरले गोल्डकप प्रतियोगिताहरू भद्रगोल

सुनसरी । नेपाली फुटबलको विकासमा मोफसलमा आयोजना हुने गोल्डकप प्रतियोगिताको योगदान ठूलो छ । 

राष्ट्रिय टिमका धेरैजसो खेलाडी यहीबाट उदाएका हुन् । तर यहि मेरूदण्ड मानिएका प्रतियोगिता अहिले एन्फाको अव्यवस्थित क्यालेन्डर र समन्वयहीन निर्णयका कारण अस्तव्यस्त बन्दै गएका छन् । एउटै समयामा थुप्रै प्रतियोगिता सञ्चालन हुने, मिति जुध्ने र खेलाडीलाई पर्याप्त विश्राम नपुग्ने समस्या यस वर्ष पनि दोहोरिएको छ ।

झापा गोल्डकपमा आयोजक झापा-११ सँग उद्घाटन खेल खेलेको २४ घन्टा नबित्दै नेपाल पुलिस क्लब बुढासुब्बा गोल्डकप खेल्न धरान पुग्नु पर्‍यो । पाँच पटकको बुढासुब्बा गोल्डकप च्याम्पियन पुलिस क्लबका खेलाडी शारीरिक र मानसिक रूपमा थकित देखिए । 

त्यसको असर प्रत्यक्ष रूपमा नतिजामा पर्यो र टोली क्वार्टरफाइनलबाटै बाहिरिन बाध्य भयो । यहि अव्यवस्थाको सबैभन्दा ठूलो मार चर्च ब्वाईज युनाइटेडले भोग्नुपर्‍यो । बुढासुब्बा गोल्डकपको दोस्रो क्वार्टरफाइनल खेल तालिका तीन साताअघि नै सार्वजनिक भइसकेको अवस्थामा झापा गोल्डकप आयोजक समितिले चर्च ब्वाईज र आर्मीको खेल बुढासुब्बासँग जुधाएर राखेपछि चर्च ब्वाईजले एकैदिन दुई फरक टिम बनाएर दुई फरक प्रतियोगिता खेल्नुपर्ने असहज परिस्थिति सिर्जना भयो । 

यो केबल एउटा क्लबको समस्या होइन, समग्र नेपाली फुटबल व्यवस्थापनको कमजोरीको चित्र हो । अहिले धरानमा बुढासुब्बा गोल्डकप, झापामा झापा गोल्डकप, गोरखामा पृथ्वीनारायण गोल्डकप र पोखरामा आहा-रारा गोल्डकप एकैसाथ सञ्चालन भइरहेका छन् । 

यसलगत्तै अन्य जिल्लामा पनि गोल्डकप सुरू हुने तयारी छ । तर एन्फाले प्रतियोगिताको मिति जुधेरै अनुमति दिने र आयोजकले आपसी समन्वय नगरी खेल तालिका सार्वजनिक गर्दा खेलाडी, प्रशिक्षक र पदाधिकारी सबै हैरान छन् । मोफसलका गोल्डकप केवल प्रतियोगिता मात्र होइनन्, ती नयाँ खेलाडी पहिचान गर्ने प्रयोगशाला पनि हुन् । तर अघिल्लो दिन एउटा गोल्डकप खेलेर भोलिपल्ट अर्को सहरमा पुग्नुपर्ने बाध्यताले खेलाडीको प्रदर्शनमा असर परेको छ । 

यसले खेलको गुणस्तर घटाउनुका साथै चोटको जोखिमसमेत बढाएको छ । स्पष्ट वर्गीकरण, केन्द्रीय क्यालेन्डर र अनिवार्य समन्वयबिना यस्ता प्रतियोगिता सञ्चालन भइरहँदा नेपाली फुटबलको दिगो विकास सम्भव नहुने देखिन्छ । यदि एन्फाले मोफसलका गोल्डकपलाई नेपाली फुटबलको आधार मानेर दीर्घकालीन योजना बनाउने हो भने मात्रै खेलाडी, क्लब र प्रतियोगिता सबैले न्याय पाउनेछन् । 

नत्र भने अव्यवस्थित क्यालेन्डरकै कारण नेपाली फुटबल थकित खेलाडी र अपूरो सम्भावनामा सीमित हुँदै जाने खतरा बढ्दो छ ।


Image

अर्जुन सुवेदी

सुवेदी कान्तिपुर टेलिभिजनका सुनसरी संवाददाता हुन् ।