बिच एसियन गेम्सका लागि महिला कबड्डी टोली घोषणा

माघ २७, २०८२ |खेल ब्युरो
बिच एसियन गेम्सका लागि महिला कबड्डी टोली घोषणा

काठमाडौं । चीनको सानिया सहरमा अप्रिल २२ देखि ३१ सम्म आयोजना हुने बिच एसियन गेम्सअन्तर्गत महिला कबड्डीमा सहभागी हुने नेपाली टोली घोषणा गरिएको छ ।

अखिल नेपाल कबड्ड संघले मंगलबार सामाजिक सञ्जालमार्फत दुई वैकल्पिकसहित आठ सदस्य टोली घोषणा गरेको हो । बिच एसियन गेम्समा पहिलो पटक कबड्डी समावेश गरिएको हो भने नेपालले महिलातर्फ मात्र सहभागिता जनाउन लागेको हो । प्रतियोगितामा अधिकतम नाै टोली सहभागी हुने भए पनि आधिकारिक रूपमा टुङ्गो लागिनसकेको अखिल नेपाल कबड्डी संघले जनाएको छ । 

सहभागी टिमलाई दुई समूहमा विभाजन गरिने र चाँडै खेल तालिका सार्वजनिक गरिने पनि संघले जनाएको छ । नेपाली टिममा मानमति विष्ट, रबिना चौधरी, नानुमाया पराजुली, मिना नेपाली, सृजनाकुमारी थारु र अनुजा राई सामेल छन् । वैकल्पिक खेलाडीमा मेनुका कुमारी राजवंशी र आस्मा यादव छन् । 

मिसन २०२६ मा रहेको नेपाली टोली अहिले पनि तयारीमा व्यस्त रहेको र प्रतियोगितामा पदक जित्ने लक्ष्यमा रहेको संघले जनाएको छ ।