
काठमाडौं । आगामी शुत्रबारदेखि थाइल्यान्डमा सुरू हुने एसीसी महिला एसिया कप राइर्जिङ स्टार्स खेल्न जाने नेपाली महिला क्रिकेट टोलीको बिदाइ गरिएको छ ।
नेपाल क्रिकेट संघ-क्यानले मंगलबार एक कार्यक्रम आयोजना गर्दै टिमलाई बिदाइ गरेको हो । बिदाइ कार्यक्रममा कप्तान पुजा महतोले यस पटक टोली सहभागितमा मात्र सीमित नभइ उपाधि जित्ने लक्ष्यमा रहेको बताइन् । हालै नेपालमा सम्पन्न आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटकमा क्रममा कप्तान इन्दु बर्मा घाइते भएपछि पुजालाई कप्तानीको जिम्मेवारी दिइएको हो ।
यसअघि पुजाले यू-१९ टिमको नेतृत्व गरिसकेकी छन् । मुख्य प्रशिक्षक हर्षल पाठकले नेपाली टोली सन्तुलित र व्यवस्थित रहेको उल्लेख गर्दै विपक्षीलाई चुनौती दिन तयार रहेको उल्लेख गरे। अनुभवी खेलाडी रूबिना क्षेत्रीले यो प्रतियोगिता एक्सपोजरको राम्रो अवसर भएको र टोलीको तयारी राम्रो रहेकाले नतिजा ल्याउन सक्ने बताइन् ।
फेब्रुअरी १३ देखि २२ सम्म थाइल्यान्डमा आयोजना हुने प्रतियोगितामा सहभागी ८ टिमलाई २ समुहमा विभाजन गरिएको छ । नेपालले समुह 'ए' मा भारत 'ए',पाकिस्तान 'ए' र यूएईसँग प्रतिस्पर्धा गर्नेछ । समूह 'बी' मा आयोजक थाइल्यान्डसहित बंगलादेश 'ए', मलेसिया र श्रीलंका 'ए' सामेल छन् । दुवै समूहबाट शीर्ष २ टोली सेमिफाइनलमा पुग्ने छन् ।
उद्धघाटन खेलमा नेपालले पाकिस्तान 'ए'सँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुवात गर्ने छ । नेपालले फेब्रुअरी १५ मा यूएई र १७ मा भारत 'ए' को सामना गर्ने छ । प्रतियोगिताका दुवै सेमिफाइनल फेब्रुअरी २० र फाइनल खेल फेब्रुअरी २२ मा खेलिने छ ।