आईसीसी टी-२० विश्वकपमा नेदरल्यान्ड्सको पहिलो जित

नामिबिया ७ विकेटले पराजित
माघ २७, २०८२ |खेल ब्युरो
आईसीसी टी-२० विश्वकपमा नेदरल्यान्ड्सको पहिलो जित

काठमाडौं । बस डे लिडेको उत्कृष्ट अलराउन्ड प्रदर्शनको मद्दतमा आईसीसी पुरुष टी-२० विश्वकपमा नेदरल्यान्ड्सले नामिबियालाई सात विकेटले पराजित गरेको छ । 

कडा प्रतिस्पर्धाका बाबजुद आफ्नो पहिलो खेलमा पाकिस्तानसँग ३ विकेटले पराजित भएको नेदरल्यान्ड्सले यस खेलमा भने सानदार प्रदर्शन गर्दै सुपर-८ को सम्भावना जिवित राखेको हो । नामिबियाले भने हारसहित विश्वकप यात्राको सुरुवात गरेको छ ।

टी-२० विश्वकपमा नेदरल्यान्ड्सको यो विकेटका हिसाबले सबैभन्दा ठूलो जित हो । साथै टी-२० विश्वकपमा हालसम्म ११ जित हात पारेको नेदरल्यान्ड्स एसोसिएट राष्ट्रहरूमध्ये सबै भन्दा सफल टोली हो । दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा नेड्रल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेपछि सुरुवातमा ब्याटिङ गरेको नमिबियाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ५६ रनको योगफल तयार पारेको थियो ।

नामिबियाको पावरप्ले निकै कमजोर रह्याे । ओपनर लोरेन स्टीन-क्याम्प ६ रनमा आउट भए । दोस्रो विकेटका लागि जन फ्राइलिङ्क र जान निकोल लफ्टी-ईटनले ५० रनको साझेदारी गरे । लोगन भान बिकले फ्राइलिङ्कलाई ३० रनमा आउट गर्दै साझेदारी तोडे । कप्तान जेरार्ड एरास्मस केही आक्रामक देखिए पनि ९ बलमा १८ रन मात्र बनाउन सके । 

लफ्टी-ईटनले सर्वाधिक ४२ रनको योगदान दिए । अन्त्यतिर जेजे स्मिटले २२ रन बनाएपछि नामिबियाले १ सय ५६ रनको योगफल तयार पार्यो । डच टोलीका लागि भान बिकले नयाँ बलबाट उत्कृष्ट सुरूवात गर्दै ४ ओभरमा १३ रन खर्चिएर २ विकेट लिए । बास डे लिडेको नाममा पनि २ विकेट रह्याे ।

१ सय ५७ रनको लक्ष्य नेदरल्यान्ड्सले १२ बल बाँकी रहँदै ३ विकेट गुमाएर सजिलै पूरा गर्‍यो । नेदरल्यान्ड्सले सुरुवातमै ७ रन बनाएका म्याक्सको विकेट गुमाए पनि माइकल लेभिटको आक्रामक २८ रनले टोलीलाई गतिशिल बनायो । बास डे लिडेले उत्कृष्ट संयम र आक्रमणको सन्तुलन देखाउँदै ४८ बलमा अविजित ७२ रनको योगदान दिए । 

उनको इनिङ्समा ९ चौका र ४ छक्का समावेश थिए । स्कट एडवड्र्सले ९ बलमा १८ रनको क्यामियो खेलेपछि नेदरल्यान्ड्सले २ ओभर अघिनै सहज जित हात पार्यो । बस डे लिडे नेदरल्यान्ड्सका लागि टी-२० विश्वकपमा एकै खेलमा अर्धशतक र दुई विकेट लिने पहिलो खेलाडी बने ।

जितसँगै समूह 'ए'मा नेदरल्यान्ड्सले २ खेलमा २ अंक जोडेको छ । नामिबियाले भने अंकको खाता खोल्न सकेको छैन । विश्वकमा अहिले यूएई र न्युजिल्यान्डबीचको खेल जारी छ । प्रतियोगिताको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्स र म्याक्स 'टु'बाट भइरहेको छ ।