
काठमाडौं । २०औँ एसियाली खेलकुदका लागि दुई वर्षदेखि सञ्चालन हुँदै आएको मिसन २०२६ अन्तर्गतको प्रशिक्षणलाई निरन्तरता दिने प्रधानमन्त्री सुशीला कार्कीले आश्वासन दिनुभएको छ ।
साेमबार राष्ट्रिय खेलकुद परिषद्को टोलीसँगको भेटघाटमा प्रधानमन्त्री कार्कीले अर्थ मन्त्रालयसँग समन्वय गरी बजेट व्यवस्था गर्ने बताउनुभएको परिषद्ले जानकारी दिएको छ । २०औँ राष्ट्रिय खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्य राख्दै दुई वर्षअघि परिषद्ले मिसन २०२६ कार्यक्रम सुरु गरेको थियो ।
सुरूमा पाँच खेललाई प्रशिक्षणमा राखिए पनि अहिले १० खेलका ११ टोली अभ्यासमा सहभागी छन् । यद्यपि यो प्रशिक्षणका लागि माघसम्मलाई मात्रै बजेट विनियोजन गरिएको हुँदा फागुनबाट अभ्यास नै नहुने चिन्ता खेलाडीमा थपिएको थियो । यसैबारे जानकारी दिन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहता, राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टलगायतले प्रधानमन्त्रीसँग भेटी बजेट व्यवस्था गर्न अनुरोध गरेका थिए ।
भेटमा प्रधानमन्त्री कार्कीले राम्रो तयारी गरी उद्देश्य पूरा गर्न शुभकामनासमेत दिनुभयो । उहाँले फागुन २१ को निर्वाचनलगत्तै विशेष प्रशिक्षण जारी राख्न सुझाव दिनुभयो । तर खेलाडीहरूमा भने प्रशिक्षण रोकिए आफ्नो स्तर घट्ने चिन्ता रहेको बताउँदै आइरहेका छन् ।
नेपालले एसियाली खेलकुदमा अहिलेसम्म स्वर्ण जित्न सकेको छैन । २०औँ एसियाली खेलकुद अर्को वर्षको असोजमा जापानमा आयोजना हुनेछ ।