टी-२० विश्वकपमा स्कटल्यान्डले इटालीलाई हरायो

माघ २६, २०८२ |खेल ब्युरो
टी-२० विश्वकपमा स्कटल्यान्डले इटालीलाई हरायो

काठमाडौं । आईसीसी पुरूष टी-२० विश्वकपमा स्कटल्यान्डले इटालीलाई ७३ रनले पराजित गरेको छ । 

स्कटल्यान्डले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको इटाली एक सय ३४ रनमा अलआउट भएपछि स्कटल्यान्ड ७३ रनले विजयी भएको हो। इडेन गार्डन र‌ंगशाला कोलकातामा इटालीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको स्कटल्यान्डले निर्धारित २० ओभरमा चार विकेट गुमाएर दुई सय ७ रन बनाएको थियो। 

स्कटल्यान्डका ओपनर जर्ज मान्जीले ५४ बलमा ८४ रनको साझेदारी गरेका थिए। उनले १३ चौका र दुई छक्का प्रहार गरे। त्यसैगरी, माइकल जोन्सले पनि ३० बलमा ३७ रन जोडेका थिए। ओपनर जोडीले नै एक सय २६ रनको साझेदारी गरेपछि स्कटल्यान्ड सहज अवस्थामा पुगेको थियो। 

 ब्राण्डन मक्मलेनले १८ बलमा ४१ रनको योगदान गरे। इटालीका अली हसन, ग्रान्ट स्टुवर्ट, थोमस र जे-जे स्मुटले समान एक-एक विकेट लिएका थिए। जवाफी ब्याटिङ गरेको इटाली १६ ओभर चार बलमा एक सय ३४ रन बनाएर अलआउट भयो। ओपनर जस्टिन मोसा शून्य र एन्थोनी मोसा १३ रनमा बाहिरिएका थिए । 

स्मुटले २२ रन मात्रै बनाउन सके। हेरी मेनेटीले ३७ तथा बेन मेनेटीले सर्वाधिक ५२ रन बनाएका थिए। स्कटल्यान्डका माइकल लिस्कले चार विकेट लिए भने मार्क वाटले २ विकेट आफ्नो नाममा गरेका थिए। यो जितसँगै स्कटल्यान्डले दोस्रो खेलमा पहिलो २ अंक जोडेको छ। इटाली डेब्युमा पराजित भएको छ।