पुलिसलाई हराउँदै चर्च ब्वाइज युनाइटेड बुढासुब्बा गोल्डकपको सेमिफाइनल प्रवेश

माघ २५, २०८२ |अर्जुन सुवेदी
पुलिसलाई हराउँदै चर्च ब्वाइज युनाइटेड बुढासुब्बा गोल्डकपको सेमिफाइनल प्रवेश

सुनसरी । विभागीय टिम नेपाल पुलिस क्लबलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेड २६ औँ संस्करणको अन्तर्राष्टिय आमन्त्रण बुढासुब्बा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ ।

धरान रंगशालामा आइतबार भएको दोस्रो क्वाटरफाइनल खेलमा चर्च ब्वाइजले पुलिसमाथि १-० को जीत निकाल्यो । चर्च ब्वाइजलाई अन्तिम चारको यात्रा तय गराउन रिचार्ड विल्सनले निर्णायक गोल गरे । विल्सनले खेल सुरु भएको ३० सेकेण्डमै गोल गरेका थिए । दोस्रो मिनेटमा पुलिसका सञ्जीव लामा र दीपेशगुरुङबीच हातहालाहाल भएपछि दुवै जनालाई रेफ्री कबिन व्यञ्जनकारले रातो कार्ड दिएर मैदान बाहिर पठाएका थिए । बाँकी समय दुवै टिम १०-१० खेलाडीमा सीमित भएका थिए । झापा गोल्डकपको उद्घाटन खेलमा आयोजक झापा ११ सँग २-१ गोल अन्तरले पराजित भएको २४ घण्टा नबित्दै बुढासुब्बा खेल्न धरान पुगेको पुलिसका अधिकांश खेलाडी थकित देखिन्थे । एन्फाले गोल्डकप जुधाएर बनाएको भद्रगोल क्यालेण्डरको कारण चर्च ब्वाइजले आइतबार एकै दिन बुढासुब्बा र झापा गोल्डकप खेल्नुपरेको थियो । खेलको म्यान अफद म्याच निर्णायक गोल गरेका रिचार्ड घोषित हुँदै नगद १० हजार पाए । आइतबारको विजेता चर्च ब्वाइजले अब झापा ११ र सातदोबाटो युथ क्लबबीच मंगलबार हुने अन्तिम क्वार्टरफाइनल विजेतासँग आगामी बिहिबार सेमिफाइनलमा प्रतिष्पर्धा गर्नेछ । त्यसअघि सोमबार हुने तेस्रो क्वार्टरफाइनलमा आयोजक धरान फुटबल क्लबले पोखराको लालिगुराँस एफसीको सामना गर्नेछ । प्रतियोगिताको फाइनल खेल फागुन २ गते हुनेछ । विजेता टोलीले नगद १० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछ ।


Image

अर्जुन सुवेदी

सुवेदी कान्तिपुर टेलिभिजनका सुनसरी संवाददाता हुन् ।