एन्फा लिग : नयाँ टोलीको सनसनी, पुराना क्लबको संघर्ष

फाल्गुन १८, २०८२ |खेल ब्युरो
एन्फा लिग : नयाँ टोलीको सनसनी, पुराना क्लबको संघर्ष

काठमाडौं । गत पुस ३० गतेबाट सुरु भएको एन्फा राष्ट्रिय लिग अहिले मध्य भागमा आइपुगेको छ । 

यहाँसम्म आइपुग्दा लिगमा प्रतिस्पर्धा रोचक बन्दै गइरहेको छ । 'ए' डिभिजनका स्थापित क्लबहरू पछि परेका छन् भने लालीगुराँस युथ एसोसिएसनजस्तो प्रेसिडेन्ट कपको उपाधि जितेर आएको सामुदायिक क्लबले बलिया भनिएका क्लबलाई कडा टक्कर प्रस्तुत गरिरहेको छ ।

प्रेसिडेन्ट कपको उपाधि जितेर पहिलोपटक राष्ट्रिय लिगमा छनोट भएको लालीगुराँस युथ एसोसिएसन क्लबले अहिले लिग आधा सकिँदा सनसनी मच्चाएको छ । प्रेसिडेन्ट कपबाटै आएका सिमराको नव जागृति युवा क्लब र सुर्खेतको कार्केविहार युवा क्लबले ८ खेलिसक्दा समेत जित हात पार्न नसकिरहँदा १८ अंकका साथ लालिगुराँस भने अंकतालिकामा दोस्रो स्थानमा छ ।

विभागीय टोली एपीएफ २० अंकका साथ लिगको शीर्ष स्थानमा रहँदा अन्य स्थापित टोलीलाई भने टप फाइभमा पर्नै हम्मे हम्मे परिरहेको छ । मनाङ मर्स्याङ्दी क्लब, संकटा क्लब, नेपाल पुलिस क्लबलगायत 'ए' डिभिजन लिगका स्थापित र राष्ट्रिय लिगमा उपाधिकै दाबेदार हुनसक्ने टोली अहिले अंकतालिकामा पछाडि छन् ।

राष्ट्रिय लिगमा 'ए' डिभिजन क्लबहरूमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबले पनि समान ६ अंकका साथ तालिकाको तल्लो स्थानमा संघर्ष गरिरहेका छन् । १७ टोली सहभागी लिगमा अहिले उपाधि भिडन्त र एएफसी च्यालेन्ज लिगको प्रारम्भिक छनोटका लागि प्रतिस्पर्धा भने कडा देखिन्छ । टोलीहरूबीच अंकको अन्तर त्यति फराकिलो छैन ।

८ खेल खेलेको एपीएफले ६ जित र २ बराबरीका साथ २० अंक जोडेको छ । लागीगुराँसले ८ खेलबाट १८ अंक जोडेको छ । समान १८ अंक भए पनि प्लानिङ ब्वाेईज युनाइटेड र न्युरोड टीम- एनआरटी गोल अन्तरका आधारमा क्रमशः तेस्रो र चौथो स्थानमा छन् । उपाधिमा दाबेदारी दिइरहेको अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लब १७ अंकका साथ पाँचौँ स्थानमा छ ।

लिग आधा सकिँदा चर्च ब्वाेईज युनाइटेडका आबायोमी फाकुन्ले ७ गोलसहित सर्वाधिक गोलकर्ताको सूचीमा अग्रस्थानमा छन् । आर्मीका नवयुग श्रेष्ठ र लालीगुराँसका अब्दुल युसुफ हाउले समान ६-६ गोलका साथ फाकुन्लेलाई पछ्याइरहेका छन् ।

यस लिगको विजेताले ५० लाख रूपैयाँ नगद पुरस्कार पाउनेछ भने उपविजेताले २५ लाख र तेस्रो हुनेले १५ लाख प्राप्त गर्नेछन् । सबैभन्दा महत्त्वपूर्ण कुरा, लिगको च्याम्पियनले २०२६-२७ को एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछ ।

साढे तीन वर्षदेखि 'ए' डिभिजन लिग नहुँदा संकटग्रस्त अवस्थामा पुगेको नेपाली घरेलु फुटबललाई राष्ट्रिय लिगले अहिले चलायमान राख्न महत्त्वपूर्ण भूमिका खेलिरहेको छ । खेलहरू मुख्यतः दशरथ रंगशाला र एन्फा कम्प्लेक्स सातदोबाटोमा भइरहेका छन् । 

लिग आधा सकिँदा प्रतिस्पर्धाका कारण टोलीहरूबीच छुट्टै उत्साह छाएको छ । तर, त्यस्तै उत्साह दर्शकको उपस्थितिमा भने देखिँदैन । अधिकांश खेलमा दर्शक संख्या सय पनि पुग्ने गरेकाे छैन ।