
काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकपमा दक्षिण अफ्रिकाले आफ्नो अपराजित यात्रा कायम राखेको छ ।
आफ्नो सुपर ८ को अन्तिम खेलमा जिम्बाब्वेलाई ५ विकेटले पराजित गर्दै दक्षिण अफ्रिकाले अपराजित यात्रा कायम राखेको हो । दिल्लीस्थित अरुण जेटली स्टेडियममा टस जितेर पहिले ब्याटिङ रोजेको जिम्बाब्वेले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५३ रनको योगफल तयार पारेको थियो ।
जिम्बाब्वेका लागि कप्तान सिकन्दर राजाले शानदार ब्याटिङ गर्दै मात्र ४३ बलमा ७३ रनको आक्रामक पारी खेले । त्यस्तै, उसका लागि क्लिभे माडानेले २० बलमा अविजित २६ रन बनाए । बलिङमा दक्षिण अफ्रिकाका लागि क्वेना माफाका र कोर्बिन बोस्चले समान दुई-दुई विकेट लिए । त्यस्तै, जर्ज लिण्डे, लुङगी एनगीडी र अनरिच नेर्खेले समान १-१ विकेट आफ्नो नाम गरे ।
जवाफी ब्याटिङमा १ सय ५४ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले सुरुवाती विकेट गुमाए पनि १७ दशमलव ५ ओभरमा ५ विकेटको क्षतिमा जित हासिल गर्यो । दक्षिण अफ्रिकाका लागि युवा ब्याटर डेवाल्ड ब्रेभिसले मात्र १८ बलमा ४२ रनको विष्फोटक इनिङ्स खेलेर टोलीलाई सहज जिततर्फ डोहोर्याए ।
बलिङमा जिम्बाब्वेका लागि सिकन्दर राजा ले सवार्धिक ३ विकेट लिए । ब्लेसीङ मुर्जाबानी र ब्राड इभान्सले समान १-१ विकेट लिए । जितसँगै दक्षिण अफ्रिकाका जारी प्रतियोगितामा अपराजित रहँदै समूह १ को विजेता बनेको छ । सेमिफाइनल समीकरणमा अब दक्षिण अफ्रिकाले बुधबार हुने पहिलो सेमिफाइनलमा न्युजिल्यान्डको सामना गर्नेछ ।
अर्कोतर्फ, जिम्बाब्वेको भने यस विश्वकपको ऐतिहासिक यात्रा सुपर ८ बाटै समाप्त भएको छ ।