
काठमाडौं । इङ्लिस प्रिमियर लिगमा आइतबार दुई हेभिवेट टिम चेल्सी र आर्सनलबीच खेल हुँदै छ ।
आइतबार राति साढे १० बजे हुने यो बहुप्रतीक्षित खेलमा चेल्सीले पछिल्ला दश खेलको अपराजित यात्रा जोगाउने चुनौतीको सामना गर्नेछ । गत जनवरीमा नियुक्त भएका लियम रोजेनियरको प्रशिक्षणमा चेल्सी लिगमा अपराजित छ । त्यसअघि आफूलाई हराउन सफल एक मात्र टोली आर्सनलसँगको प्रतिस्पर्धा चेल्सीका लागि १० खेलको अपराजित शृंखला जोगाउने परीक्षा हुनेछ ।
गनर्सले पछिल्लो खेलमा कट्टर प्रतिद्वन्द्वी टोटेनहम हट्सपरविरुद्ध ४-१ को शानदार जित हात पारेको थियो । पछिल्लो जितसँगै आर्सनलले प्रिमियर लिगको शीर्ष स्थानमा पाँच अंकको अग्रता कायम गरेको छ । जनवरीमा म्यानचेस्टर युनाइटेडसँग अप्रत्याशित हार बेहोरेपछि आर्सनलले घरेलु मैदानमा लगातार चार खेल जितेको छ ।
उसले पछिल्ला तीन खेलमा क्लिन सिट राख्दै आठ गोलसमेत गरेको छ । यता चेल्सीको पछिल्लो प्रदर्शन मिश्रित छ । एफए कपमा हल सिटीलाई ४-० ले हराए पनि गत साता बर्नलीसँग १-१ को बराबरीमा रोकिएको थियो । चेल्सीले पछिल्लोपटक सन् २०२१ अगस्टमा मात्र आर्सनललाई हराएको थियो ।
त्यसयता गनर्स क्लब विश्वकप विजेता चेल्सीविरूद्ध १० खेल अपराजित रहँदै उत्कृष्ट लयमा छन् । यो खेलको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्समा हेर्न सक्नु हुनेछ ।