
काठमाडौं । चार सातासम्मको रोमाञ्चक यात्रापछि आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अब अन्तिम मोडमा आइपुगेको छ ।
समूह चरण र सुपर-८ मा कडा प्रतिस्पर्धाको सामना गर्दै चार शक्तिशाली टोली दक्षिण अफ्रिका भारत, इंग्ल्यान्ड र न्युजिल्यान्ड सेमिफाइनलमा पुगेका हुन् । सेमिफाइनल समीकरण पूरा हुँदा भारत र इंग्ल्यान्ड तेस्रो पटक च्याम्पियन बन्दै इतिहास रच्ने दाउमा छन् भने न्युजिल्यान्ड र दक्षिण अफ्रिका पहिलो पटक उपाधि उचाल्ने लक्ष्यमा छन् ।
आईसीसी पुरुष टी-२० विश्वकप २०२६ का ५५ मध्ये ५२ खेल सकिएका छन् । यसको अर्थ प्रतियोगिता नकआउट चरणमा पुगेको छ र बाँकी ३ खेल पछि टी-२० विश्वकपको च्याम्पियनको टुंगो लाग्ने छ । आज हामी सेमिफाइनलमा पुगेका चार वटै टोलीको चर्चा गर्ने छौं ।
दक्षिण अफ्रिका यस संस्करणको सबैभन्दा स्थिर टोली सावित भएको छ । समूह चरणदेखि सुपर-८ सम्म कुनै खेल नहारेको अफ्रिकी टोली सुपर ८ को समूह-१ को शीर्ष स्थानमा रहेर अन्तिम ४ मा प्रवेश गरेको हो । जिम्बाब्वेविरूद्धको अन्तिम खेलमा केही मुख्य खेलाडीलाई आराम दिँदा पनि टोलीको लयमा कमी देखिएन ।
गत संस्करणको फाइनलमा भारतसँग पराजित भएको पीडाबीच ऊ पहिलो पटक टी-२० च्याम्पियन बन्ने लक्ष्यमा छ । दक्षिण अफ्रिकाका चौथो पटक टी-२० विश्वकपको सेमिफाइनल खेल्न लागेको हो । समूह-२ बाट इंग्ल्यान्ड पहिलो टोलीको रूपमा सेमिफाइनलमा पुगेको हो ।
समूह चरणमा वेस्ट इन्डिजसँग पराजित भए पनि सुपर ८ का तीनवटै खेल जितेको इंग्ल्यान्ड १० संस्करणमध्ये छैटौं पटक सेमिफाइनलमा प्रतिस्पर्धा गर्न लागेको हो । निरन्तरता र अनुभवलाई आफ्नो बलियो पक्ष बनाएको इंग्ल्यान्डले यस अघि २०१० र २०२२ मा उपाधि उचालिसकेको छ । ऊ तेस्रो पटक च्यामिपयन बन्दै इतिहास रच्ने लक्ष्यमा हुने छ ।
न्युजिल्यान्डको सेमिफाइनल यात्रा भने नेट रन रेटले तय गर्यो । पाकिस्तानसँग समान अंक रहे पनि न्युजिल्यान्डले उत्कृष्ट नेट रनरेटका आधारमा सेमिफाइनलमा स्थान बनाएको हो । श्रीलंका र पाकिस्तानबीचको खेलमा पाकिस्तानले जितको अन्तर ६४ रनभन्दा बढी कायम गर्न नसक्दा न्युजिल्यान्डले औपचारिक रूपमा अन्तिम चारको यात्रा सुनिश्चित गरेको हो ।
पाँचौं पटक सेमिफाइनल खेल्न लागेको न्युजिल्यान्ड २०२१ को फाइनलमा अस्ट्रेलियासँग पराजित भएपछि उपाधि चुम्नबाट चुकेको थियो । शान्त, योजनाबद्ध र अनुशासित क्रिकेट खेल्दै आएको यो टोली अब उपाधिको प्रबल दावेदारका रूपमा हेरिएको छ ।
डिफेन्डिङ च्याम्पियन भारतले यस टी-२० विश्वकपमा अनुमान गरेभन्दा कडा चुनौतीको सामना गर्नुपर्यो । सुपर ८ मा दक्षिण अफ्रिकासँग ७६ रनको हारले ठूलो दबाबमा परे पनि आवश्यक समीकरण आयोजक टोलीको पक्षमा पर्यो । उसले सुपर-८ को अन्तिम खेलमा वेस्ट इन्डिजविरुद्ध दबाबपूर्ण जित निकाल्दै सेमिफाइनलको टिकट सुरक्षित गर्यो ।
भर्चअल क्वार्टरफाइनल मानिएको यो खेल जित्ने टोली सेमिफाइनलमा प्रवेश गर्ने समीकरण थियो । यस जितका नायक बने सञ्जु स्यामसन बने उनले अविजित ९७ रनको उत्कृष्ट इनिङ्स खेलेपछि भारतले अन्तिम चारमा स्थान बनाएको हो । भारतका लागि यो छौटौं सेमिफाइनल हुने छ । भारतले उपाधि रक्षा गर्न सके ऊ तेस्रोपटक उपाधि जित्ने र घरेलु मैदानमा च्याम्पियन बन्ने पहिलो टोली बन्ने छ ।
यस पटकको विश्वकपमा केही अप्रत्याशित नतिजा पनि आए । अस्ट्रेलिया समूह चरणमै बाहिरिनु सबैभन्दा ठूलो झट्का रह्याे । तर सेमिफाइनलमा पुगेका चार टोली भने अनुभव, लय र सन्तुलनका आधारमा योग्य सावित भएका छन् । सेमिफाइनल र फाइनल खेलका लागि रिजर्व डेसमेत राखिएको छ ।
अब फागुन २० गते खेलिने प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा दक्षिण अफ्रिका र न्युजिल्यान्ड कोलकाताको ईडन गार्डेनमा प्रतिस्पर्धा गर्ने छन् । फागुन २१ गते मुम्बईस्थित वानखेडे स्टेडियममा भारत र इंग्ल्यान्ड प्रतिस्पर्धा गर्ने छन् । यो अघिल्लो संस्करणको सेमिफाइनलको पुनरावृत्ति हुने छ ।
एकातिर अपराजित दक्षिण अफ्रिका, अर्कोतिर च्याम्पियन भारत, निरन्तरता बोकेको इङ्ल्यान्ड र योजनाबद्ध न्युजिल्यान्ड कसले इतिहास लेख्ला ? त्यसका लागि फागुन २४ गते अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने फाइनल खेलको नतिजा कुर्नु पर्ने छ ।