
काठमाडौं । कतार फुटबल संघले अनिश्चितकालका लागि सबै फुटबल प्रतियोगिता स्थगित गरेपछि स्पेन र अर्जेन्टिनाबीच हुने फिनालिस्सिमा संकटमा परेको छ ।
अर्जेन्टिना र स्पेन मार्च २७ मा कतारको लुसेल स्टेडियममा आमने सामने हुने तालिका छ । अमेरिका र इजरायलले इरानमा गरेको आक्रमण र अरब प्राय:दिपमाथि मिसाइल प्रहार भएपछि कतारले प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको हो । कोपा अमेरिकाको विजेता अर्जेन्टिना र युरोपियन च्याम्पियन स्पेनको खेललाई समर्थकले ब्यग्रताका साथ प्रतिक्षा गरिरहेका छन् ।
लियोनल मेसी र लमिन यामल एक अर्काविरुद्ध उत्रने भएकाले पनि चर्चामा छ । कतार एफले एक विज्ञप्ति जारी गर्दै तत्काल लागू हुने गरी सबै खेल, प्रतियोगिता अनिश्चितकालका लागि स्थगित भएको जानकारी दिएको हो । फिनालिस्सिमाको खेल स्थगित गर्ने अन्तिम आधिकार भने युरोपियन फुटवल महासंघ र दक्षिण अमेरिकी फुटबल महासंघलाई रहनेछ ।
यस्तै बहराइनले पनि अर्को सूचना नआउदा सम्मका लागि सबै प्रतियोगिता पछि सारेको छ । एसियन फुटबल महासंघले पनि च्याम्पियन्स लिग एलिटका खेलमा ढिलाइ हुने जनाएको छ । एएफसी च्याम्पियन्स लिग क्वार्टरफाइनल चरणमा पुगेको छ । फुटबलबाहेक अन्य खेलमा पनि आक्रमणको असर परेको छ । गत शनिबार अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरू गरेपछि पश्चिम एसिया उच्च सतर्कतामा छ ।