
कैलाली । ‘सिटी अफ क्रिकेट’ को परिचय बनाएको कैलालीको धनगढी उप–महानगरपालिकामा निजी क्षेत्रको लगानीमा अन्तर्राष्ट्रिय मापदण्डको क्रिकेट मैदान (धनगढी ओभल) निर्माणको काम अन्तिम चरणमा पुगेको छ । क्रिकेट अभियन्ता सुबाश शाही र मोहन साउँद को लगानीमा धनगढी उपमहानगरपालिका–३, बोराडाँडीमा करिब ५ विघा क्षेत्रफलमा निर्माणाधीन मैदानको काम अन्तिम चरणमा पुगेको हो ।
मैदान निर्माणको काम आठ महिनाअघि सुरु गरिएको हो । हालसम्म भरान गरेर मैदान सम्याउने, तथा चारैतिर तारजाली लगाउने काम सम्पन्न भइसकेको छ । मैदानको सिंचाइका लागि ३६० डिग्री ड्रेनेज प्रणाली तयार पारिएको छ ।
सोमबारदेखि पिच निर्माणको काम पनि सुरु गरिएको छ । “पहिलो चरणमा चारवटा पिच निर्माण सुरु गरेका छौं,” पिचको शिलान्यास गर्दै लगानीकर्ता सुबाश शाहीले भने, “आगामी बैशाखसम्ममा पहिलो चरणको सबै काम सम्पन्न गरी मैदानलाई ट्रायल फेजमा ल्याउने लक्ष्य छ ।” धनगढीको रिङरोडसँग जोडिएको धनगढी ओभललाई तीन चरणमा निर्माण गर्ने योजना छ ।
पहिलो चरण पूरा भएलगत्तै मैदान सञ्चालनमा आउनेछ । दोस्रो चरणमा खेलाडी चेन्जिङ रुम, पेभिलियन, डगआउट र अभ्यासका लागि नेटहरू निर्माण गरिनेछ ।
तेस्रो चरणमा प्यारापिट, फ्लडलाइट तथा कफी सप निर्माण गर्ने योजना रहेको शाहीले बताए । पश्चिमतर्फ बारहमासे पानी बग्ने मोहना नदी रहेकाले त्यहाँ रिभर साइड विकास गर्ने अवधारणासमेत अघि सारिएको शाहीले बताए ।
पहिलो चरणमा करिब १ करोड रुपैयाँ खर्च भइसकेको छ शाहीले भने– तीनै चरण सम्पन्न हुँदा १५ करोड रुपैयाँभन्दा बढी लगानी लाग्ने अनुमान गरेका छौं ।
मैदान निर्माणको सम्पूर्ण प्राविधिक पक्ष अन्तर्राष्ट्रिय पिच क्युरेटर माधव पाठकले हेरिरहेका छन् । क्युरेटर पाठकका अनुसार अन्तर्राष्ट्रिय मापदण्डअनुसार मैदानको बाउन्ड्री साइज ६५ देखी ७५ मिटरभन्दा बढी छ । “माटो परीक्षण, मैदानको स्लोप तथा पिच निर्माण सबै अन्तर्राष्ट्रिय मापदण्डअनुसार गरिएको छ,” पाठकले भने, “यस कारण यहाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालन गर्न सकिन्छ ।”
धनगढीमा निर्माणाधीन फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्रामको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) यस अघि नै वनीसकेको छ । वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदन पनि स्वीकृत भएर रुख कटानको काम पनि अगाडि बढ्ने तयारीमा छ खेलग्रामका अध्यक्ष समेत रहेका शाहीले भने । “ अन्तर्राष्ट्रिय रंगशाला निर्माणका क्रममा र सञ्चालनपछि पछि अभ्यासका लागि सहायक मैदानहरू आवश्यक पर्छन्,” उनले भने, “निर्माणकै क्रममा पनि धनगढी ओभललाई वैकल्पिक मैदानका रूपमा प्रयोग गर्न सकिन्छ ।” सुदूरपश्चिममा क्रिकेटप्रति छुट्टै क्रेज रहेको उल्लेख गर्दै शाहीले अर्जुन ट्रफी, डीपीएल, जस्ता प्रतियोगिता तथा एनपीएलका फ्रेन्चाइज खेलाडीहरूले समेत यहाँ अभ्यास गर्न सक्ने बताए ।
छिमेकी मुलुक भारतका दिल्ली, कोलकाता, लखनउ र मुम्बई का स्थानीय टोलीहरू धनगढी क्रिकेट एकेडेमीसँग खेल्न इच्छुक रहेको जानकारी दिँदै उनले ५–६ वटा सिरिज खेलाएर यहाँका पर्यटकीय स्थल भ्रमण गराउने प्याकेज बनाउने योजना रहेको सुनाए ।
“धनगढीलाई सिटी अफ क्रिकेट को रूपमा थप गतिशील बनाउन हामीले एउटा इँटा थपेका हौं,” शाहीले भने, “यसले यहाँको क्रिकेटलाई अझै उचाइमा पु¥याउनेमा हामी विश्वस्त छौं ।”