
अछाम । अछामको १६औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि साँफेबगर नगरपालिकाले हात पारेको छ।
जिल्ला खेलकुद समिति अछामको आयोजना तथा पञ्चदेवल विनायक नगरपालिकाको सह-आयोजनामा माघ १५ गतेदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सञ्चालन गरिएको थियो ।
कुल १६ स्वर्ण, पाँच रजत र सात कास्य पदक जित्दै साँफेबगर नगरपालिकाले यस वर्षको शिल्ड आफ्नो नाममा पार्दै प्रथम स्थान हासिल गर्यो। आठ स्वर्ण, १३ रजत र तीन कास्यसहित मङ्गलसेन नगरपालिका द्वितीय हुँदा आयोजक पञ्चदेवल विनायक नगरपालिका पाँच स्वर्ण, ६ रजत र ६ कास्यसहित तृतीय स्थानमा रह्यो ।
यस्तै, रामारोशन गाउँपालिकाले तीन स्वर्ण, एक रजत र दुई कास्य तथा कमलबजार नगरपालिकाले तीन स्वर्ण र तीन कास्य पदक जितेका छन् । चौरपाटी गाउँपालिकाले दुई स्वर्ण, तीन रजत र दुई कास्य, तुर्माखाँद गाउँपालिकाले एक स्वर्ण, एक रजत र तीन कास्य, ढकारी गाउँपालिकाले एक रजत र दुई कास्य तथा मेल्लेख गाउँपालिकाले दुई रजत र एक कास्य पदक हात पारेका छन्।
बान्निगढी जयगढ गाउँपालिकाले भने यस पटक कुनै पदक जित्न सकेन। समापन समारोहमा विभिन्न विधामा उत्कृष्ट खेलाडी तथा टोलीलाई प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गर्दै सम्मान गरिएको थियो।