
काठमाडौं । नाटकीय पुनरागमनसहित एलेना रिबाकिनाले पहिलो पटक अष्ट्रेलियन ओपन टेनिसको उपाधि जितेकी छन् ।
मेलबर्नमा शनिबार सम्पन्न फाइनलमा कजाखस्तानकी पाँचौं वरियताकी रिबाकिनाले विश्व नम्बर एक आर्यना साबालेन्कालाई तीन सेटमा पराजित गर्दै वर्षको पहिलो गान्ड स्ल्याम आफ्नो बनाइन् । बेलारूसकी साबालेन्काविरूद्ध ६-४, ४-६, ६-४ को नतिजा हात पारेकी रिबाकिनाको यो दोस्रो ग्रान्डस्लाम उपाधि हो ।
निर्णायक तेस्रो सेटमा रिबाकिना ३-० ले पछि पार्दा साबालेन्का तेस्रो अष्ट्रेलियन ओपन उपाधितर्फ अघि बढिरहेकी थिइन् । तर त्यसपछि रिबाकिनाले लगातार पाँच गेम जित्दै खेलको दिशानै परिवर्तन गरिन् । यस जितसँगै उनले २०२३ को अष्ट्रेलियन ओपन फाइनलमा साबालेन्कासँग बेहोरेको हारको बदला पनि लिइन् ।
विश्व नम्बर एक साबालेन्काका लागि भने यो पछिल्ला चार ग्रान्डस्लाम फाइनलमध्ये तेस्रो निराशाजनक हार बन्यो । यसअघि उनले २०२४ को अष्ट्रेलियन ओपन र फ्रेन्च ओपन फाइनलमा पनि उपाधि गुमाएकी थिइन् । दोस्रो सेटको अन्त्यतिर र निर्णायक सेटको सुरूवातमा सर्भ ब्रेक गर्दै अग्रता लिएकी साबालेन्का निर्णायक क्षणमा दबाब थेग्न नसक्दा लय गुमाउन पुगिन् ।
खेलको अन्तिम चरणमा साबालेन्काबाट लगातार अनफोर्स्ड एरर हुन पुग्यो । २६ वर्षीया रिबाकिनाले उत्कृष्ट संयम देखाउँदै अन्तिम गेममा एस प्रहारसहित अष्ट्रेलियन ओपन आफ्नो बनाइन् । रिबाकिनाले विश्व नम्बर दुई इगा स्वियातेक र छैटौं वरियताकी जेसिका पेगुलाजस्ता शीर्ष-१० खेलाडीलाई पराजित गर्दै फाइनलमा स्थान बनाएकी थिइन् ।
सन् २०१९ मा नाओमी ओसाकापछि उनी क्वार्टरफाइनलदेखि फाइनलसम्म हरेक चरणमा शीर्ष-१० खेलाडीलाई हराउँदै उपाधि जित्ने पहिलो खेलाडी बनेकी छन् । विम्बल्डन २०२२ को उपाधिपछि दोस्रो ग्रान्डस्लाम जितेकी रिबाकिना हाल डब्ल्यूटीए टूरकै सबैभन्दा राम्रो लयमा रहेकी खेलाडी हुन् । पछिल्ला २१ खेलमध्ये २० खेलमा रिबाकिनाले जित हात पारेकी छन् ।