
पोखरा । छैटौं टाइगर कप भलिबल च्याम्पियनसिप, पुरुषतर्फको उपाधिका लागि गण्डकी प्रदेश र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको छ। यसअघि प्राविधिक त्रुटी हुँदा गण्डकी र पर्वत जिल्ला भलिबल संघले फाइनल खेल्ने भनिएको थियो ।
पोखरा रंगशालाको भलिबल कोर्टमा भएको समूह चरणको अन्तिम खेलमा गण्डकीले, पर्वत माथि पाँच सेटको जित हात पारेको थियो । खेल पाँचौँ सेटमा पुगेपछि गण्डकी र पर्वतले फाइनल खेल्ने भनियो । तालिकाको शीर्ष स्थानमा रहेको गण्डकीले पाँच खेलबाट ११ अंक प्राप्त गर्यो । पर्वत र पुलिसको समान दश दश अंक भयो । दुवैले समूह चरणका तीन खेलमा जित हात पार्दा दुईमा हार बेहोरेका थिए । जितको आधार र अंक पनि बराबर भएपछि रेसियोको आधारमा पुलिसले पर्वतलाई पछि पारेको हो । पुलिसले एघार सेट जित्दा सातमा हार बेहोरेको थियो । पर्वतले १३ सेटमा जित निकाल्दा नौ सेट गुमायो । यदि पर्वतले गण्डकीलाई पाँचै सेटमा हराएको भए पनि फाइनल खेल्ने थियो । आधिकारिकरूपमा प्राविधिक टिमले पर्वत र गण्डकी नै फाइनल खेल्ने भनेपछि विवाद आएको थियो । निर्णयको विरोध र आलोचना भएपछि बसेको बैठकले गल्ति सच्याएको हो । गलत निर्णयका कारण पर्न गएको असर प्रति आयोजकले माफी पनि मागेको छ । फाइनल आज दिउँसो दुई बजे हुनेछ । त्यसअघि एघार बजे तेस्रो स्थानका लागि पर्वत र त्रिभुवन आर्मी क्लब बीच खेल हुनेछ । विजेताले ६ लाख ६६ हजार ६ सय ६६ र दोस्रो हुने टिमले ३ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।