अभ्यास खेलमा नेपालको लगातार दोस्रो जित, मुम्बई प्रेसिडेन्ट्स ११ लाई ४८ रनले हरायो

माघ १७, २०८२ |खेल ब्युरो
अभ्यास खेलमा नेपालको लगातार दोस्रो जित, मुम्बई प्रेसिडेन्ट्स ११ लाई ४८ रनले हरायो

काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले दोस्रो अभ्यास खेलमा भारतको मुम्बई क्रिकेट एकेडेमी प्रेसिडेन्ट्स ११ लाई ४८ रनले पराजित गरेको छ । 

पहिलो अभ्यास खेलमा पनि नेपालले ७ विकेटको सहज जित हात पारेको थियो । नेपालको जितमा आरिफ शेखले अविजित अर्धशतकीय योगदान दिए भने पहिलो खेलमा आराम दिइएका सन्दीप लामिछानेले सानदार बलिङ गरे । ब्रेबन क्रिकेट स्टेडियम टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८३ रन बनाएको थियो । नेपाल ४ परिवर्तनसहित मैदान उत्रिएको थियो ।

लोकेश बमले १५ रन मात्र बनाउन सके । सन्दीप जोराले ३१ र बसिर अहमदले ९ रन जोडे । आरिफले ४२ बलमा ६६ को अर्धशतकीय योगदान दिए । गुलशन झा १२ बलमा २३ रनको योगदान दिए । मुम्बईका मंगुकिया र चाभानले समान २ विकेट लिए ।

१ सय ८४ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३५ रनमात्र बनाउन सक्यो । मुम्बईका लागि ओपनर मुलचन्दानीले २७ सर्वाधिक ४७ रन बनाए । सक्सेनाले २३ रन जोडे । पहिलो अभ्यास खेल गुमाएका सन्दीप लामिछाने ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । ललित राजवंशी र गुलशन झाले समान २-२ विकेट हात पारे ।

अब नेपाली टोली विश्वकपको आधिकारिक वार्मअप खेलका लागि आइतबार चेन्नई जानेछ । नेपालले यूएईसँग फेब्रुअरी ३ र क्यानडासँग फेब्रुअरी ५ मा विश्वकपको आधिकारिक अभ्यास खेल खेल्ने छ । नेपालले आफ्ना दुवै वार्मअप खेल चेन्नईस्थित एमए चिदम्बरम रंगशालामा खेल्ने छ । फेब्रुअरी ३ मा खेलिने युएईविरुद्धको अभ्यास खेल साँझ सवा ५ बजे र क्यानडासँग फेब्रुअरी ५ मा खेलिने खेल दिउँसो सवा १ बजेदेखि खेल सुरु हुनेछ ।

नेपालले फेब्रुअरी ८ मा इंग्ल्यान्डसँग खेल्दै विश्वकप यात्रा सुरूआत गर्नेछ । नेपालले फेब्रुअरी १२ मा इटली, फेब्रुअरी १५ मा वेस्ट इन्डिज अनि फेब्रुअरी १७ मा स्कटल्यान्डसँग खेल्नेछ । टी-२० विश्वकप फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुँदैछ ।