बंगलादेश र नेदरल्यान्ड्स आईसीसी महिला टी-२० विश्वकपमा छनोट

माघ १४, २०८२ |खेल ब्युरो
बंगलादेश र नेदरल्यान्ड्स आईसीसी महिला टी-२० विश्वकपमा छनोट

काठमाडौं । बंगलादेश र नेदरल्यान्ड्स यसै वर्ष इंग्ल्यान्डमा आयोजना हुने आईसीसी महिला टी-२० विश्वकपमा छनोट भएका छन् ।

नेपालमा जारी आईसीसी महिला टी-२० विश्वकप छनोटको सुपर सिक्सअन्तर्गत बुधबार सम्पन्न पहिलो खेलमा थाइल्यान्डलाई पराजित गर्दै बंगलादेश विश्वकप नजिक पुगेको थियो । तर अर्को खेलमा नेदरल्यान्ड्सले अमेरिकालाई पराजित गरेपछि दुवै टिमले विश्वकपमा स्थान बनाए । 

बंगलादेशका लागि यो सातौं महिला टी-२० विपश्वकप हुने छ भने नेदरल्यान्ड्स पहिलो पटक टी-२० विश्व कपमा पुगेको हो । ग्लोबल छनोटमा लगातार पाँच खेल जितेको बंगलादेशले थाइल्यान्डलाई ३९ रनले पराजित गरेको हो । थाई टोलीले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६५ रनको योगफल तयार पारेको थियो । 

जवाफमा थाइल्यान्डको ब्याटिङ लाइनअप बंगलादेशी बलरको अनुशासित प्रदर्शन अगाडि टिक्न सकेन । निर्धारित ओभरमा उसले ८ विकेट गुमाउँदै १ सय २६ रनमात्र बनाउन सक्यो । नेदरल्यान्ड्सले अमेरिकालाई डीएलएस पद्दतिमा २१ रनले पराजित गर्दै विश्वकपमा स्थान पक्का गरेको हो । 

अमेरिकाले पहिला ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १ सय २९ रन बनाए पनि दोस्रो इनिङ्समा वर्ष बाधक बनेको थियो । डच टोलीले १२ ओभरमा २ विकेट गुमाएर ९० रन बनाएको अवस्थामा खेल प्रभावित भएको थियो । त्यसपछि खेल पुन: सुरु हुन नसक्दा नेदरल्यान्ड्सले डीएलएस पद्दतिमा १२ ओभरमा जितका लागि आवश्यक ७० रनको आँकडा पार गरिसकेको थियो ।

सुपर सिक्समा बुधबारनै सम्पन्न अर्को खेलमा स्कटल्यान्डले आयरल्यान्डलाई ३९ रनले पराजित गर्यो । सुपरसिक्समा ६ अंकसहित बंगलादेश शीर्ष स्थानमा छ भने समान अंक जोडे पनि नेदरल्यान्ड्स दोस्रो स्थानमा छ । ४ अंकसहित स्कटल्यान्ड्स तेस्रो र २ अंक सहित आयरल्यान्ड्स चौथो स्थानमा छ । अमेरिका र थाइल्यान्ड अंकविहीन छन् । महिला टी २० विश्वकप २०२६ जुन १२ देखि इंग्ल्यान्डमा सुरू हुने छ ।