
काठमाडौं । छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपमा गण्डकी प्रदेशले नेपाल पुलिस क्लबमाथि सहज जित निकालेको छ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी प्रतियोगिताअन्तर्गत मंगलबारको चौथो तथा अन्तिम खेलमा पुरूषतर्फ गण्डकीले पुलिसलाई ३-० को सोझो सेटमा पराजित गरेको हो । गण्डकीले पहिलो सेट २५-२२, दोस्रो सेट २५-२० र तेस्रो सेट २५-१४ ले आफ्नो पक्षमा पार्यो ।
त्यसैगरी मंगलबार भएको खेलमा पुरूषतर्फ पर्वत जिल्ला भलिबल संघले माल्दिभ्स भलिबल एसोसियसनलाई ३-० को सोझो सेटले पराजित गरेको छ । पर्वतले पहिलो सेट २५-१७, दोस्रो सेट २५-१८ र तेस्रो सेट २५-१६ ले जित निकालेको हो। यसअघि पर्वतले नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल एपीएफलाई पराजित गरेको थियो ।
माल्दिभ्स भलिबलले भने लगातार चौथो हार बेहोरेको छ । बुधबार ४ खेल हुनेछन् । पहिलो खेल महिलातर्फ एपीएफ र पुलिसबीच हुनेछ भने महिलातर्फ न्यू डायमन्ड र थाइल्यान्ड क्विन्स भिड्नेछन् । बुधबारको तेस्रो खेल पुरूषतर्फ पुलिस र माल्दिभ्सबीच हुनेछ र त्यसपछि पुरूषतर्फ बुधबारको अन्तिम खेल एपीएफ र आर्मीबीच हुने तालिका छ ।