
रामेछाप । रामेछापको शैलुङ क्षेत्रमा यस वर्ष मध्य माघमै हिउँ पर्न थालेको छ ।
लामो समयदेखि वर्षा नहुँदा सुख्खा बढिरहेको अवस्थामा बुधबार बिहानदेखि शैलुङका डाँडामा हिमपात सुरू भएको हो । हिउँ परेसँगै स्थानीय कृषकहरू खुसी भएका छन् । खेतबारीमा आवश्यक चिस्यान पुग्ने र उत्पादनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।
दोरम्बा शैलुङ गाउँपालिका-१ डडुवा निवासी स्थानीय कृषक दावासाङ्बु शेर्पाका अनुसार हिउँ विस्तारै पग्लिँदा माटोभित्र पर्याप्त पानी सञ्चित हुने भएकाले सिँचाइको समस्या कम हुने विश्वास गरिएको छ । अहिले भारी मात्रा हिउँ नपरे पनि हिउँ झर्ने क्रम बढिरहेकाले राति झन् धेरै हिउँ पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।
शैलुङ क्षेत्रमा आलु, गहुँ, जौ, उवा तथा मौसमी तरकारीको राम्रो उत्पादन हुँदै आएको छ । हिउँ नपरेको वर्ष आलुको उत्पादन घट्ने भएकाले हिमपातसँगै यस वर्ष राम्रो उत्पादन हुने आशा गरिएको कृषकहरू बताउँछन् । हिमपातपछि शैलुङका डाँडा सेताम्मे र मनोरम देखिएका छन् । हिउँ खेल्न आउने आन्तरिक पर्यटकको सङ्ख्या बढ्न थालेको स्थानीयको भनाइ छ ।