जिल्ला छोडेर काठमाडौंमा भोट खोज्दै उम्मेदवार, होटल-बैंकेटमै मतदाता भेला

माघ १४, २०८२ |विकास आचार्य
जिल्ला छोडेर काठमाडौंमा भोट खोज्दै उम्मेदवार, होटल-बैंकेटमै मतदाता भेला

काठमाडौं । फागुन २१ को चुनावका लागि उम्मेदवारहरूले देशभर मतदाता भेटघाट तीव्र बनाइरहेका छन् । 

तर केही जिल्ला र क्षेत्रका उम्मेदवार भने काठमाडौंमा मतदाता खोज्दैछन् । उनीहरूले होटल, रेष्टुँरा र बैंकेटहरूमा मतदाता भेला पारी भोट मागिरहेका छन् । निर्वाचनमा जिल्ला फर्किएर आफूलाई नै मत हालुन् भनेर मतदाता रिझाउने हरसम्भव प्रयास गरिरहेका छन् ।

नेपाली कांग्रेसका नेता नैनसिंह महर आजकाल काठमाडौंमा डडेलधुराका मतदाता खोज्न व्यस्त हुनुहुन्छ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पार्टीले डडेलधुराको टिकट थम्याएपछि उहाँ मतदाता पछ्याइरहनुभएको छ । काठमाडौंमा डडेलधुराका दुई हजारभन्दा बढी मतदाता रहेको महरको अनुमान छ । एउटै मात्र क्षेत्र रहेको डडेलधुराबाट यसअघि कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा विजयी हुँदै आउनुभएको थियो ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेल पनि चुनावी भेट काठमाडौं उपत्यकामै गरिरहनु भएको छ । भेटघाटमा सम्पर्क मञ्च लगायतका फोरम प्रयोग गर्नुका साथ-साथै अन्य पार्टी गतिविधिमा पनि उहाँहरू व्यस्त हुनुहुन्छ । एमाले महासचिव पोखरेलले भने घोषणापत्र लेखनसहित भेटघाटको काम चलिरहेको र केही दिनमै निर्वाचन क्षेत्र फर्किने बताउनुहुन्छ ।

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल पनि काठमाडौंमा भेटघाट र छलफलमै व्यस्त हुनुहुन्छ । रूकुम-पूर्वबाट चुनावमा होमिनु भएका उहाँ पार्टी कामसहित घोषणापत्र लेखनमा व्यस्त हुनुहुन्छ । उम्मेदवारहरूले काठमाडौं उपत्यकालाई केन्द्रमा राखी निर्वाचन परिचालन कमिटी बनाउनेदेखि व्यावसायिक प्रतिष्ठानसम्म छिरेर भोट मागिरहेका छन् । 

मंगलबार मात्रै पनि उज्यालो नेपाल पार्टीबाट काठमाडौं-३ मा उम्मेदवार बनेका कुलमान घिसिङले भोट माग्नैका लागि रामेछाप-काठमाडौं सम्पर्क मञ्च गठन गर्नुभयो । काठमाडौं उपत्यकामा मात्रै होइन- जनघनत्व बढी भएका अन्य क्षेत्रहरूमा पनि उम्मेदवारहरू भोट माग्न धाईरहेका छन् । मतदाता भने सबैको कुरा सुन्ने र योग्य उम्मेदवारलाई मतदान गर्ने दाबी गर्छन् ।


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।