
बाजुरा । हिमाली जिल्ला बाजुरामा वर्षासँगै हिमपात भएपछि निर्वाचन कार्य प्रभावित हुने देखिएको छ ।
मंगलबार पुनः हिमपात भएपछि त्यहाँका २२ वटा मतदान केन्द प्रभावित हुन सक्ने अनुमान गरिएको हो । हिमाली, स्वामीकार्तिक खापर, जगन्नाथ गाउँपालिका र बुढीनन्दा नगरपालिकाका केही केन्द्र प्रभावित हुनसक्ने जिल्ला सुरक्षा समिति बाजुराले जनाएको छ ।
दोस्रोपटक हिमपात भए पनि हाल निर्वाचन आयोगको कार्य तालिका र दलको आन्तरिक गृहकार्यमा भने कुनै प्रभाव नपरेको मुख्य निर्वाचजन अधिकृतको कार्यालय बाजुराले जनाएको छ । निर्वाचन आयोगको कार्यतालिका हाल केही नभएको र दलहरू पनि फागुन ४ गतेबाट प्रचार गर्ने भएकाले खासै प्रभाव नभएको मुख्य निर्वाचजचन अधिकृत संवीज पोखरेलले बताउनुभएको छ ।
उहाँले फागुन २१ को आसपास पनि हिमपात भयो भने त्यसको विकल्प खोज्ने बताउनुभयाे । हुम्लामा पनि मतदान केन्द्रहरूको निरीक्षण तथा अनुगमनको तालिका हिमपातका कारण प्रभावित बनेको छ । त्यस्तै दल र उम्मेदवारहरूले पनि घरदैलो कार्यक्रम गर्न पाएका छैनन् ।
अन्य हिमाली जिल्लामा अहिलेको हिमपातले पनि निर्वाचन प्रक्रियामा असर पर्नसक्ने चिन्ता बढ्दै गएको छ।