
काठमाडौं । क्रिकेट खेल्न १३ वर्षको बालकले दैनिक २० किलोमिटर यात्रा गर्नु सामान्य होइन ।
यही चुनौतीपूर्ण दैनिकी नै नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर बसिर अहमदको रोजाइ थियो । टेनिस बलबाट सुरु भएको करिअरमा प्रशिक्षक वसन्त शाही ठकुरीको नजर परेपछि बसिरको खेल जीवनमा नयाँ मोड आयो । अन्डररेटेड खेलाडी भए पनि घरेलु प्रतियोगिता र नेपाल प्रिमियर लिग-एनपीएलमा उनले आफ्नो प्रतिभा देखाउँदै धेरैको विश्वास जितिसकेका छन् ।
दबाबमा झन् निखारिने क्षमता र संघर्षशील प्रवृत्तिले उनलाई टी-२० विश्वकप खेल्ने टोलीको भरपर्दो सदस्य बनाएको छ । कान्तिपुर समाचारको नो योर राइनोजमा आज हामी बसिर अहमदको क्रिकेट यात्राबारे चर्चा गर्ने छौं ।
तपाईं १३ वर्षको उमेरमा के गर्नु हुन्थ्यो ? सायद दैनिक पढाइ र बिहान-बेलुकी सामान्य खेलकूद । तर, बसिर अहमद यो उमेरमा क्रिकेट सिक्नैका लागि दैनिक २० किलोमिटरको यात्रा गर्थे । सन् २००३ सेप्टेम्बर ११ मा रुपन्देहीको मायादेवी गाउापालिका-४ मा जन्मिएका बसिर भैरहवाको लुम्बिनी नवयुवा क्लबमा प्रशिक्षण गर्न दैनिक लामो यात्रा गर्थे, जसले आज उनलाई नेपाली क्रिकेटका अलराउन्डर बनाएको छ । बायाँ हाते स्लो लेफ्ट आर्म अर्थोडक्स बलमा माहिर बसिर जुनसुकै क्रममा ब्याटिङ गर्न सक्षम मानिन्छन् ।
टेनिस बलबाट सुरु भएको उनको करिअरमा प्रशिक्षक वसन्त शाही ठकुरीको नजर परेपछि खेल जीवनले नै नयाा मोड लियो । लुम्बिनी नवयुवा क्लब हुँदै उनले तिरुपति क्लबमा प्रशिक्षण लिए । वसन्तले नै उनको ब्याटिङ र बलिङ कौशलमा निखार ल्याए ।
लुम्बिनीबाट यू-१९ राष्ट्रिय प्रतियोगिता खेल्दै व्यावसायिक यात्रा सुरु गरेका बसिरले २०२१ मा अन्डर १९ एसिया कप खेले । प्रतियोगितामा नेपाल जितविहीन बने पनि कुवेतविरुद्ध सानदार अर्धशतकीय इनिङ्स खेलेपछि उनले धेरैको ध्यान आफूतिर तान्न सफल भए ।
२०२२ राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा अवसर पाउँदा आफूलाई प्रमाणित गर्न कुनै कसर बाँकी राखेनन् । सोही वर्ष उनले जिम्बाब्वे 'ए' विरुद्ध लिस्ट 'ए' क्रिकेट र नामिबियाविरुद्ध आईसीसी लिग टु बाट एकदिवसीय अन्तर्राष्ट्रिमा डेब्यू गरे । लगत्तै केन्याविरुद्ध पहिलो पटक टी-२० आई क्याप जिते ।
हाल सम्म ४ ओडीआई खेलेका बसिरले ७ टी-२० आई खेलेका छन् । बसिरले नेपाल 'ए' र घरेलु क्रिकेटमा पनि आफ्नो छाप छोडिसकेका छन् । त्रिभुवन आर्मी क्लबबाट खेल्दा उनले मध्यक्रममा भरपर्दो ब्याट्सम्यानको रूपमा आफूलाई प्रमाणित गरिसकेका छन् ।
उनको करिअरको सबैभन्दा सानदार इनिङ्स २०२५ मा हङकङमा सम्पन्न चारदेशीय टी-२० शृंखलाको फाइनलमा कुवेतविरुद्ध पस्किए । १ सय ७५ रनको लक्ष्य पछ्याएको नेपाल ९२ रनमा ८ विकेट गुमाएको खराब अवस्थामा रहँदा उनले नेपाललाई अन्तिम ओभरसम्म पुर्याए । नेपाल तीन रनले पराजित भए पनि बसिरको क्षमताले सबैको मन जित्यो । उनले ४३ बलमा ८० रनको आक्रामक इनिङ्स खेले ।
दोस्रो संस्करणको एनपीएलमा विराटनगर किंग्सका लागि खेल्दा बसिरले आफ्नो क्षमताको प्रदर्शन अझ प्रस्ट पारे । ९ खेलमा १ सय ९१ रन बनाएका उनले कर्णाली याक्सविरुद्धको खेलमा टिमलाई संघर्षपूर्ण परिस्थितिबाट जित दिलाएका थिए । दबाबमा खेल्न सक्ने यही क्षमताले उनलाई टी-२० विश्वकप खेल्ने टिमको महत्वपूर्ण सदस्य बनाएको हो ।
बसिर अहमद नेपाली क्रिकेटमा सम्भावना बोकेका तर अन्डररेटेड खेलाडी हुन् । तर एनपीएलको प्रदर्शनबाट पुनः राष्ट्रिय टोलीमा आफ्नो स्थान सुरक्षित गरेका युवा अलराउन्डरले विश्वकपमा खेल्ने अवसर पाए निश्चित रुपमा ग्लोबल हेडलाइन बन्न सक्ने क्षमता राख्छन् ।
मिहिनेत, समर्पण र सपनाले बसिर अहमदलाई राष्ट्रिय टिमको जर्सीको हकदार बनाएको हो । प्रशिक्षणका लागि दैनिक २० किलोमिटरको यात्रा गर्ने बसिर आज टी-२० विश्वकपसम्म पुगेका छन् । उनको कथा नेपाली क्रिकेटको प्रेरणादायी अध्याय हो । जसले युवा खेलाडीलाई संघर्ष, धैर्य र आत्मविश्वासको महत्व बोध गराइरहेको छ ।