राष्ट्रिय लिगमा लालीगुराँस क्लबको जितमा लाग्यो ब्रेक, त्रिभुवन आर्मीसँग गोलरहित बराबरी

लालीगुराँस शीर्ष स्थानमा कायमै
माघ १३, २०८२ |खेल ब्युरो
राष्ट्रिय लिगमा लालीगुराँस क्लबको जितमा लाग्यो ब्रेक, त्रिभुवन आर्मीसँग गोलरहित बराबरी

काठमाडौं । राष्ट्रिय लिगमा मंगलबार भएको खेलमा लालीगुराँस क्लब र त्रिभुवन आर्मीले बराबरी खेलेका छन् । 

सातदोबाटो एन्फा कम्प्लेक्समा मंगलबार भएको दिनको पहिलो खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन् । आर्मीले खेलको सुरुदेखि नै दबाब बनाएको थियो । दुवै टोलीले पाएका अवसरको सदुपयोग गर्न नसक्दा खेल बराबरीमा टुंगिएको हो । 

डिफेन्समा उत्कृष्ट प्रर्दशन गरेको लालीगुराँसले बारम्बार आर्मीको प्रहार विफल पार्यो । ३६औं मिनेटमा आर्मीका विङगरको क्रस लालीगुराँसका रोशन छन्त्याललाई लाग्दै पोस्टको केही परबाट बाहिरिँदा लालीगुराँस भाग्यशाली बन्न पुग्यो । ३९औँ मिनेटमा पनि दिनेश हेन्जनको प्रहार लालीगुराँसका गोलरक्षक कुमा देउवाले विफल पारे । 

त्यसैगरी, ४४औँ मिनेटमा आर्मीका कुशल देउबाको लङ रेन्ज प्रहार कुमाले नै विफल पारे । पहिलो हाफ गोलरहित बराबरीमा सकाएको बालगोपाल महर्जनको टोलीले दोस्रो हाफमा पनि नतिजा परिवर्तन गर्न सकेन । लालीगुराँसले काउन्टरमा गरेको सबै प्रयास विफल हुँदा उसले पनि नतिजा आफ्नो पक्षमा पार्न सकेन । 

यी दुवै टोलीले लिगमा अहिलेसम्म हार व्यहोरेका छैनन् । प्रतियोगितामा आर्मीको यो दोस्रो बराबरी हो । सबै खेल जित्दै आएको लालीगुराँसका लागि भने यो पहिलो बराबरी हो । आर्मीले प्लानिङ र लालीगुराँससँग बराबरी खेल्दा मनाङ र चित्लाङविरूद्ध जित हात पारेको छ । त्यसैगरी, लालीगुराँसले जावलाखेल, जागृती र पुलिसविरूद्ध जित हात पार्दा आर्मीसँग अंक बाँडेको हो ।