
काठमाडौै । नेपाली यु–२० महिला फुटबल टोली र चीनको युनान युथ महिला टोलीबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल आयोजना हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा), चीनको युनान विश्वविद्यालयको शारीरिक शिक्षा संकाय तथा नेपाल ओभरसिज चिनिया संघको संयुक्त आयोजनामा नेपाल र चीनको युवा टोलीबी मैत्रीपूर्ण फुटबल हुन लागेको हो ।
कुटनीतिक सम्बन्ध स्थापना स्थापना गर्ने उद्देश्यले आगामी माघ २४ गतेदेखि २८ गतेसम्म दशरथ रंगशालामा उक्त खेल हुने भएको छ । नयाँ वर्षको अवसर पारेर आयोजना गर्न लागिएको यस खेलले नेपाली यु–२० महिला टोलीको तयारी तथा अन्तर्राष्ट्रिय अनुभव अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
साथै, यस प्रकारका अन्तर्राष्ट्रिय खेलहरूले नेपाली महिला फुटबलको समग्र विकासमा सहयोग पुग्ने विश्वास एन्फाले व्यक्त गरेको छ । नेपालस्थित चिनियाँ राजदूतावास र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को समन्वयनमा उक्त मैत्रीपूर्ण फुटबल हुन लागेको हो । खेलका अवसरमा नेपाल र चीनबीचको सांस्कृतिक विविधता झल्काउने सांस्कृतिक प्रश्तुतिहरू समेत प्रदर्शन गरिने कार्यक्रम रहेको जनाइएको छ ।
चीनियाँ टोली आगामी जनवरी २९ तारिखमा नेपाल आइपुग्नेछ । पछिल्ला तीन वर्षयता नेपाल र चीनका युवा टोलीहरूबीच यस्ता मैत्रीपूर्ण खेलहरू आयोजना हुँदै आएका छन् । मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय यु–२० महिला टोली मुख्य प्रशिक्षक यामप्रसाद गुरुङको प्रशिक्षणमा बन्द प्रशिक्षण सुरु भएको एन्फाले जानकारी दिएको छ ।
एन्फाले सम्पूर्ण फुटबलप्रेमी दर्शक, सञ्चारकर्मी तथा सरोकारवालाहरूलाई खेल अवलोकन गरी नेपाली टोलीलाई उत्साह प्रदान गर्न आग्रह गरेको छ ।